मोरङमा प्रहरी र लागुऔषध कारोबारीबीच मुठभेडः गोली चल्यो, भारतीय महिलासहित ५ पक्राउ

हाम्रो पेज

२२ असार २०८२, आईतवार १६:५८
रंगेलीमा फिल्मी शैलीको अपरेशन, चल्यो गोली


विराटनगर, २२ अषाढ । मोरङ जिल्ला पछिल्लो समय लागुऔषध कारोबारको हटस्पट बन्दै गएपछि प्रहरीले आफ्नो कारबाहीलाई तीव्र बनाएको छ। यसै क्रममा, जिल्लाको रंगेलीमा लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाउनुपरेको छ भने विराटनगरमा पनि ठूलो परिमाणमा खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको विशेष टोलीले मोरङको रंगेलीमा एक संगठित समूहलाई पक्राउ गर्न खोज्दा स्थिति तनावपूर्ण बनेको थियो। इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेल नेतृत्वको टोलीले कारोबारीहरूलाई घेराबन्दी गर्ने क्रममा उनीहरूले भाग्ने प्रयास गरेपछि प्रहरी हवाइ फायर गर्न बाध्य भएको थियो। गोली चलेपछि उक्त समूहलाई नियन्त्रणमा लिन प्रहरी सफल भयो। प्रहरीले घटनास्थलबाट तीन जनालाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको छ।  पक्राउ पर्नेहरूमा रंगेली नगरपालिका–८ का ५५ वर्षीय किर्तानन्द ठाकुर, सोही स्थानका ३८ वर्षीय सुशिल बुढाथोकी र एक भारतीय महिला पहिचान खुल्न बाँकी रहेको छ ।

प्रहरीले पक्राउ परेकी भारतीय महिलाको संलग्नता र पहिचानबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। यसैबीच, मोरङमै भएको अर्को सफल कारबाहीमा लागुऔषध नियन्त्रण ब्यूरो, विराटनगरको टोलीले काठमाडौंबाट आएका दुई युवालाई पक्राउ गरेको छ। असार २१ गते साँझ विराटनगर महानगरपालिका १६ बाट २० ग्राम ३७ मिलिग्राम खैरो हेरोइनसहित उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका ३ का २१ वर्षीय अनमोल भण्डारी र सोही स्थानका २० वर्षीय प्रज्वल बस्नेत रहेका छन् । पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय, रानीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।