search logo
NOTIFICATIONS

एसियन कपको सपनाः निर्णायक भिडन्तमा आज नेपालले बलियो उज्वेकिस्तानको सामना गर्दै

हाम्रो पेज

२१ असार २०८२, शनिबार १५:३१
प्रधानमन्त्रीदेखि खेलकुद पदाधिकारीसम्मले दिए जितको शुभकामना, खेलाडीको मनोबल उच्च


विराटनगर, २१ अषाढ । नेपाली राष्ट्रिय महिला फुटबल टोली आज इतिहास रच्ने संघारमा उभिएको छ। एएफसी महिला एसियन कप छनोटको समूह चरणको अन्तिम तथा निर्णायक खेलमा नेपालले आज राति घरेलु टोली उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल दुवै टोलीका लागि गर या मर को अवस्थामा छ, किनकि विजेताले अर्को वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा आफ्नो स्थान पक्का गर्नेछ। उज्वेकिस्तानमा हुने यो महत्वपूर्ण प्रतिस्पर्धा नेपाली समयअनुसार शनिबार राति ९ः१५ बजे सुरु हुनेछ। यो खेलको नतिजाले समूह एफ को विजेता टुंगो लगाउनेछ। हार्ने टोलीको एसियन कप यात्रा यहीँ समाप्त हुने भएकाले दुवै टोली जित्ने एक मात्र लक्ष्यका साथ मैदान उत्रनेछन्। नेपाली टोली हाल उज्वेकिस्तानविरुद्धको रणनीतिक तयारीमा जुटेको छ। प्रशिक्षकहरूसँगको प्राविधिक सत्रमा खेलाडीहरूले जित हासिल गर्ने रणनीतिमाथि विशेष ध्यान केन्द्रित गरेका छन्। हामी जित्नेछौँ भन्ने एउटै लक्ष्यका साथ सम्पूर्ण टोलीको मनोबल उच्च रहेको छ। यदि निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिए, खेलको नतिजा सिधै टाइब्रेकर पेनाल्टी सुटआउट बाट निर्धारण गरिनेछ। यद्यपि, नेपाली टोली घरेलु टोलीलाई निर्धारित समयभित्रै पराजित गर्ने रणनीतिमा छ।


समूह चरणमा नेपाल र उज्वेकिस्तान दुवैले उत्कृष्ट प्रदर्शन गरेका छन्। दुवै टोलीले सुरुवाती दुई खेलमा अपराजित रहँदै समान ६ अंक जोडेका छन्। रोचक कुरा, दुवै टोलीले समान १७ गोल गरेका छन् र कुनै गोल खाएका छैनन्।
नेपालको यात्राः पहिलो खेलमा लाओसलाई ९ -० र दोस्रो खेलमा श्रीलंकालाई ८ -० ले पराजित गरेको थियो।
उज्वेकिस्तानको यात्राःपहिलो खेलमा श्रीलंकालाई १० -० र दोस्रो खेलमा लाओसलाई ७-० ले हराएको थियो।
यस महत्वपूर्ण खेलका लागि नेपाली टोलीलाई स्वदेशबाट शुभकामनाको ओइरो लागेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बालुवाटारबाट भर्चुअल संवादमार्फत सम्पूर्ण टोलीलाई जितका लागि शुभकामना व्यक्त गर्नुभएको छ। त्यस्तै, राष्ट्रिय खेलकुद परिषद् राखेप का सदस्यसचिव टंकलाल घिसिङ, अखिल नेपाल फुटबल संघ एन्फा का अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राई लगायतका पदाधिकारीहरूले पनि नेपाली चेलीहरूलाई सफलताको शुभकामना दिएका छन्।