search logo
NOTIFICATIONS

विराटनगरमा सार्वजनिक गाडीमा लुटपाट, भारतीय गिरोह प्रहरी फन्दामा

हाम्रो पेज

१३ असार २०८२, शुक्रबार १७:१३
विराटनगर, १३ अषाढ I सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने वृद्ध र असहाय व्यक्तिहरूलाई निशाना बनाउँदै नगद तथा गरगहना चोर्ने एक संगठित भारतीय महिला गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ।

यो गिरोहले विशेषगरी भीडभाड हुने सार्वजनिक गाडीमा यात्रा गर्ने र आफ्नो सामानको ख्याल गर्न नसक्ने यात्रुहरूलाई लक्षित गरी चोरी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको विशेष टोलीले विशेष सूचनाको आधारमा कटहरी गाउँपालिका–१, बुधहाटबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा भारतको पूर्णिया जिल्ला घर बताउने २४ वर्षीया प्रियंका धामी, २५ वर्षीया बिहोला धामी र २० वर्षीया अटकारी धामी रहेका छन्।

प्रहरीका अनुसार, उनीहरूले कटहरी–४ का ७० वर्षीय नारायणप्रसाद काफ्लेको झोलाबाट तीन लाख रुपैयाँ चोरेको स्वीकार गरेका छन्। उपचार गराएर सार्वजनिक गाडीमा घर फर्किरहेका काफ्लेलाई गिरोहले निसाना बनाएको थियो।
बिहीबार दिउँसो सिटी सफारीमा यात्रा गरिरहेको अवस्थामा उनीहरूको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले जाँच गरेको थियो। जाँचका क्रममा उनीहरूको साथबाट उक्त नगद बरामद भएपछि घटनाको रहस्य खुलेको हो। पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत मोरङबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।