search logo
NOTIFICATIONS

बलात्कार आरोपमा मधेसका पूर्वप्रमुख राजेश झा ‘अहिराज’ पुर्पक्षका लागि थुनामा

हाम्रो पेज

१४ श्रावण २०८२, बुधबार १८:४०

काठमाडौँ १४ श्रावण । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा ‘अहिराज’ लाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। जबरजस्ती करणीको गम्भीर आरोपमा पक्राउ परेका उहाँलाई बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश पीताम्बर शर्माको इजलासले उक्त आदेश दिएको हो। एक २३ वर्षीया युवतीले दिएको जाहेरीका आधारमा प्रहरीले झालाई अनुसन्धानका लागि साउन ४ गते पक्राउ गरेको थियो। पीडितले २०८१ जेठ ४ गते काठमाडौँको नयाँ बानेश्वरस्थित आफ्नो डेरामा एक्लै भएको अवस्थामा झाले घाँटी र मुख थिचेर जबरजस्ती करणी गरेको आरोप लगाएकी छिन्। जाहेरीमा उल्लेख भएअनुसार, घटनापछि झाले ‘यो कुरा कसैलाई भनेमा विवाह नहुने’ भन्दै सामाजिक प्रतिष्ठाको डर देखाएर उजुरी नगर्न बारम्बार धम्की दिएको पनि पीडितको भनाइ छ। अर्कोतर्फ, झाले भने ती युवतीले आफूलाई ‘ब्ल्याकमेल’ गरी आपराधिक लाभ लिन खोजेको भन्दै अदालतमा छुट्टै मुद्दा दायर गर्नुभएको छ। उहाँले पीडितलाई रु ३ लाख नगद दिएको र युवतीले थप रु २० लाख मागेको दाबी गर्नुभएको छ। यद्यपि, पीडितले बयानका क्रममा उक्त आरोपको खण्डन गरेकी छिन्। आफ्नो खातामा रहेको तीन लाख रुपैयाँ अहिराजले दिएको नभई, धान चामल बेचेको आम्दानी र आफन्तबाट प्राप्त रकम भएको उनले स्पष्ट पारेकी छिन्। बुधबार भएको थुनछेक बहसमा दुवै पक्षको बहस सुनिसकेपछि, अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा झालाई पुर्पक्षका लागि केन्द्रीय कारागार, सुन्धारा पठाउन आदेश दिएको हो। यो आदेशसँगै अब अहिराजले थुनामै रहेर मुद्दाको अन्तिम किनारा नलागेसम्म आफ्नो कानुनी प्रतिरक्षा गर्नुपर्नेछ।