हाम्रो पेज
विराटनगर, ५ अषाढ । नेपाल स्काउटको सामाजिक उत्तरदायित्वको काम महत्वपूर्ण भएको सरोकारवालाहरुले बताएका छन् । स्काउटको ७४ औं स्थापना दिवसको अवसरमा स्काउट कोशी प्रदेश समितिले आयोजना गरेको कार्यक्रमका वक्ताहरुले बालबालिका र किशोरकिशोरीको शारीरिक तथा मानसिक विकास तथा सामाजिक काममा स्काउटको भूमिका अग्रणी रहेको बताए ।
कार्यक्रममा बोल्दै कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले नेपाल स्काउटले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले सरकारसँगको सहकार्यमा स्काउट मार्फत अझै राम्रा राम्रा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल स्काउटका राष्ट्रिय परिषद् सदस्य रवि खनालले स्काउटलाई पवित्र संस्थाको रूपमा विकास गरेर लैजानुपर्ने बताउनुभयो । उहाँले स्काउटमा राजनीति नगर्न पनि आग्रह गर्नुभयो । त्यस्तै नेपाल स्काउट राष्ट्रिय परिषद सदस्य तथा राष्ट्रिय प्रशिक्षक नवलप्रसाद उपाध्यायले स्काउट मार्फत समाज परिवर्तनका धेरै काम गरेको बताउनुभयो ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका उपसचिव दामोदर फुयाँल र विभिन्न पालिकाका प्रमुख तथा स्काउट प्रतिनिधिले बोल्नुभएको थियो । सो अवसरमा स्काउटको क्षेत्रमा योगदान पुर्याउने अरुलाई सम्मान गरिएको थियो । कार्यक्रमका बीच ज्याम्बोरेट स्मारिका विमोचन गरिएको छ। स्मारिकाको कोशी प्रदेशका सामाजिक विकास मन्त्री राई, नेपाल स्काउट कोशी प्रदेशका अध्यक्ष हेमन्त भण्डारी, नेपाल स्काउट राष्ट्रिय परिषद् सदस्य खनाल, राष्ट्रिय परिषद् सदस्य तथा राष्ट्रिय प्रशिक्षक उपाध्याय लगायतले स्मारिकाको विमोचन गर्नुभयो।