हाम्रो पेज

सुरक्षा निकायहरूबाट समन्वयात्मकरुपमा निर्वाचन सुरक्षा लक्षित गस्ती पट्रोलिङ बढाउन पनि निर्देशन दिएको छ। यस्तै निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न भरपर्दो सुरक्षा व्यवस्था गर्न प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ सुरु भइसकेकाले जिल्लास्तरमासमेत आवश्यक तयारी गर्न भनिएको छ।
यसअघिका निर्वाचन सुरक्षा अभ्यास तथा अनुभव समेतका आधारमा सबै सुरक्षा निकायहरूले उक्त निर्वाचन प्रयोजनको लागि आवश्यक पर्ने सुरक्षाकर्मी, हातहतियार, सञ्चार उपकरण, सवारी साधानलगायतको विषयमा लेखाजोखा गर्न भनिएको छ। हाल कायम रहेका मतदानस्थलहरूको परिवर्तित परिस्थितिमा वर्गीकरण गर्नु पर्ने भएकोले जिल्ला सुरक्षा समितिबाट संवेदनशीलतास्तर सामान्य, संवेदनशील र अतिसंवेदनशील विश्लेषण एवम् वर्गीकरणको कार्य गरी मन्त्रालयमा प्रतिवेदन दिन भनिएको छ। यस्तै निर्वाचन विरोधी गतिविधि एवम् भूमिगत समूहद्वारा सञ्चालित क्रियाकलापहरूको पहिचान एवम् नियन्त्रणका लागि सूचना संकलन, विश्लेषण र कार्ययोजना बनाई समन्वयात्मक तबरले प्रभावकारी रुपमा कार्यन्वयन गर्न र प्रतिवेदन दिन पनि गृह मन्त्रालयको निर्देशन छ। तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने सम्बन्धमा निर्वाचन आयोग तथा गृह मन्त्रालयबाट भएका निर्णय एवम् निर्देशनलाई प्राथमिकता दिई तदारुकतासाथ कार्यन्वयन गराउन पनि भनिएको छ।
जेन–जी पुस्ताको आन्दोलनको क्रममा लुटिएका हातहतियारहरु फिर्ता ल्याउन गृह मन्त्रालयले विशेष अपरेशन सञ्चालन गर्ने भएको छ । सिंहदरबारमा बसेको केन्द्रिय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री अर्यालले यस्तो जानकारी दिनुभएको हो । उहाँकाअनुसार बैठकमा निर्वाचनको तयारीसम्बन्धी रणनीतिक योजनाहरु प्रश्तुत गर्न गठित कार्यदलको कामकारबाहीबारे समेत समिक्षा भएको छ । उहाँले बैठकमा निर्वाचनको वातावरण निर्माण गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई मुख्य जिम्मेवारी दिने निर्णय भएको पनि बताउनु भयो । उहाँले आन्दोलनको क्रममा जेलबाट भागेका कैदीहरुलाई कारागर फिर्ता गर्न सुरक्षा निकायलाई थप सक्रियताका साथ परिचालन गर्ने निर्णय भएको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामीले यसअघिको बैठकमा निर्वाचनको तयारीसँग सम्बन्धीत रणनीतिक योजनाहरु प्रश्तुत गर्न एउटा कार्यदल बनाएका थियौं । आजको बैठकमा उसले गरेको कामको समिक्षा गर्यौं । निर्वाचनको लागि सोअनुरुप हामीले आफू मातहतको निकायहरुलाई परिचालित गर्नुपर्ने हुन्छ । कार्यदलले दिएका रणनीतिक योजनाहरु हामी प्रमुख जिल्ला अधिकारीमार्फत कार्यान्वयन गराउँछौं । प्रमुख जिल्ला अधिकारीको पहिलो प्राथमिकता नै अब निर्वाचन हुन्छ । त्यसबारे निर्णय गरेका छौं । जेन–जी आन्दोलनको क्रममा लुटिएका हतियारहरु फिर्ता ल्याउनको लागि विषेश कार्यक्रम चलाउँछौं । आन्दोलनको क्रममा देशका विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरुलाई फिर्ता ल्याउनको लागि पनि थप कार्यक्रमहरु ल्याउँछौं । निर्वाचनको वातावरण बनाउनको लागि शान्ती सुरक्षाको प्रत्याभूति दिलाउनको लागि सुरक्षा निकायहरुको जोइन्ट पेट्रोलिङ गर्ने कुराहरु पनि साथसाथै अगाडि बढाउँछौं ।’