search logo
NOTIFICATIONS

इरानको सरकारी टिभीमै इजरायली हमला, तेहरान खाली गर्न ट्रम्पको चेतावनी

हाम्रो पेज

३ असार २०८२, मंगलवार १६:३१
एजेन्सी, ३ अषाढ I इरान र इजरायलबीचको द्वन्द्व पाँचौं दिनमा प्रवेश गर्दा मध्यपूर्व एक भयानक र अनियन्त्रित युद्धको डिलमा पुगेको छ। इजरायलले इरानको सरकारी टेलिभिजन भवनमा प्रत्यक्ष प्रसारणकै क्रममा आक्रमण गरेको छ भने अमेरिका र चीनजस्ता विश्व शक्तिहरूले आफ्ना नागरिकलाई तत्काल इजरायल र तेहरान छाड्न चेतावनी दिएका छन्। यो घटनाक्रमले युद्ध अब कुनै पनि बेला अकल्पनीय मोडमा पुग्न सक्ने संकेत गरेको छ।
इरानमाथि भएको संदिग्ध इजरायली हवाई हमलाका कारण इरानको सरकारी टेलिभिजनको प्रत्यक्ष प्रसारण नै अवरुद्ध हुन पुग्यो। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा, समाचार वाचिकाले समाचार पढिरहेकै बेला पृष्ठभूमिमा ठूलो विस्फोटको आवाज सुनिन्छ र क्यामेरा हल्लिन्छ। केही क्षणको अस्तव्यस्ततापछि प्रसारण काटिन्छ। यो घटनाले आक्रमण इरानको संवेदनशील पूर्वाधार नजिकै भएको र इजरायलले इरानी सञ्चारमाध्यमलाई नै निशाना बनाएको देखाएको छ। उक्त आक्रमणमा एक कर्मचारीको मृत्यु भएको बताइएको छ।
द्वन्द्व चर्किंदै गएपछि इजरायलस्थित चिनियाँ दूतावासले आफ्ना नागरिकलाई सकेसम्म चाँडो इजरायल छाड्न निर्देशन दिएको छ। हवाई क्षेत्र बन्द भएकाले जोर्डन वा इजिप्टको भूमि सीमा प्रयोग गरेर बाहिरिन सल्लाह दिइएको छ। उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक हतियारबारे कडा चेतावनी दिंदै तेहरानका करिब  एककरोड बासिन्दालाई तत्काल शहर खाली गर्न भनेका छन्। उनले सामाजिक सञ्जाल ‘ट्रुथ’मा लेखेका छन्, “सरल भाषामा भन्नुपर्दा, इरानसँग आणविक हतियार हुन सक्दैन । मैले यो कुरा बारम्बार भनेको छु।” यो चेतावनीपछि तेहरानका सडकहरूमा शहर छाड्नेहरूको ठूलो भीड र ट्राफिक जाम देखिएको छ।
मध्यपूर्वको बढ्दो तनावलाई कारण देखाउँदै राष्ट्रपति ट्रम्पले जी ७ शिखर सम्मेलन बीचमै छाडेर अमेरिका फर्कने निर्णय गरेको ह्वाइट हाउसले जनाएको छ। इजरायली आक्रमणमा हालसम्म दुईसय २४ इरानी मारिएका छन् भने एकहजार चारसय ८१ जना घाइते भएका छन् । इरानले पनि इजरायलको राजधानी तेल अभिभ र हाइफामा बमबारी गरेको छ। इजरायलमा हालसम्म २४ जनाको मृत्यु भएको छ भने छसय भन्दा बढी घाइते भएका छन्। आज बिहान पनि तेहरानमा धेरै नयाँ विस्फोटहरू भएको र इरानले इजरायलतर्फ पुनः मिसाइल प्रहार गरेको दुवै देशका सञ्चारमाध्यमले पुष्टि गरेका छन् । इरान र इजरायलबीचको यो सीधा सैन्य टकरावले विश्व समुदायलाई स्तब्ध बनाएको छ। आणविक हतियारको प्रयोग हुन सक्ने खतरा र त्यसले निम्त्याउने अकल्पनीय मानवीय तथा वातावरणीय संकटको त्रासले विश्वभर चिन्ता बढाएको छ। यो युद्धले नेपालजस्ता देशहरूमा पनि आर्थिक तथा मानवीय संकट निम्त्याउन सक्ने देखिएको छ।