हाम्रो पेज
काठमाडौं, ३ अषाढ I भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै निरन्तर संसद् अवरुद्ध गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई बैठकबाट निष्कासन गर्न प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले माग गरेको छ। कांग्रेसले रास्वपा सांसदहरूको पोशाक र गतिविधि ‘अमर्यादित’ भएको भन्दै नियमापत्ति जनाएपछि संसद्मा तनाव उत्पन्न भएको थियो, जसका कारण बैठक केही बेरमै स्थगित हुन पुग्यो।
आजको प्रतिनिधिसभा बैठकमा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले रास्वपा सांसदहरूले लगाएको निलो स्कार्फलाई लिएर नियमापत्ति जनाउनुभयो । उहाँले संसद् नियमावलीको व्यवस्था स्मरण गराउँदै भन्नुभयो, “संसद्मा मर्यादित पोशाकमा आउनुपर्छ। भोलि कोही हाफ पाइन्ट लगाएर आउने, जथाभावी पोसाकमा आउने हो भने त्यसलाई संसद्को मर्यादाभित्र राख्ने कि नराख्ने ?” उहाँले रास्वपा सांसदहरूको गतिविधि ‘अभद्र’ भएको आरोप लगाउँदै उनीहरूलाई चेतावनी दिएर बैठकबाट निष्कासन गर्न सभामुख देवराज घिमिरेसँग माग गर्नुभयो । यो नियमापत्तिपछि बैठकमा थप विवाद उत्पन्न भएको थियो।
बैठक स्थगित भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपाका प्रवक्ता मनिष झाले सत्तापक्षको दोहोरो चरित्रमाथि प्रश्न उठाउनुभयो । उहाँले नागरिकता, शिक्षा जस्ता महत्त्वपूर्ण विधेयकमा आफ्नो पार्टीको राजनीतिक समर्थन रहने तर मानव तस्करी जस्तो गम्भीर अपराधमा छानबिन हुनुपर्ने अडान नछाड्ने बताउनुभयो । झाले कांग्रेसलाई लक्षित गर्दै भन्नुभयो, “हिजो यही सदनमा हालका गृहमन्त्रीले प्रतिपक्षमा हुँदा भन्नुभएको होइन, ‘एकजना सांसद उभिए पनि विरोध मानिन्छ, सदन अगाडि नबढाइयोस्’? कि त्यो तर्क उहाँका लागि मात्र थियो, अरूका लागि होइन? ” उहाँले कांग्रेसलाई भिजिट भिसाको आवरणमा भएको मानव तस्करीको विषयलाई मुद्दा नै नमान्ने हो भने खुलेर भन्न चुनौती दिनुभयो । झाले भन्नुभयो, “कि त यो मुद्दा नै होइन, हामी मान्छे बेचिरहन चाहन्छौं भनेर भन्नुपर्यो। नत्र छानबिनबाट भाग्न मिल्दैन।” यो घटनाक्रमले सत्ता र प्रतिपक्षबीचको टकराव चरम उत्कर्षमा पुगेको देखाएको छ। एकातिर सत्तापक्ष प्रतिपक्षीलाई ‘पेलेरै’ जाने रणनीतिमा देखिन्छ भने अर्कोतिर रास्वपाले आफ्नो अडान नछाड्ने संकेत गरेको छ।
