पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी, सर्वत्र निन्दा

हाम्रो पेज

२८ जेष्ठ २०८२, बुधबार १६:२४
काठमाडौं, २८ जेठ I वरिष्ठ पत्रकार दिलभुषण पाठकविरुद्ध जिल्ला अदालत, काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पुत्र जयवीरसिंह देउवाको व्यावसायिक लगानीबारे अपुष्ट सामग्री प्रसारण गरेको आरोपमा प्रहरीको साइबर ब्युरोले विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धानका लागि पक्राउ अनुमति लिएको हो। यस घटनाले नेपालमा प्रेस स्वतन्त्रता र साइबर अपराध कानुनको क्षेत्राधिकारलाई लिएर गम्भीर बहस सिर्जना गरेको छ।
पाठकले तीन हप्ताअघि आफ्नो युट्युब च्यानल ‘टफ टक’ को ‘टफ एक्स्प्लेनर’ कार्यक्रममा जयवीरसिंह देउवाले नक्सालस्थित हिल्टन होटलमा लगानी गरेको दाबी गर्नु भएको थियो। उक्त सामग्रीमा शंकर ग्रुपको स्वामित्वमा रहेको होटलमा व्यापारी शाहिल अग्रवाल र दीपक भट्टसँग मिलेर जयवीरले लगानी भित्र्याएको, उहाँको दुबईदेखि क्यानडासम्म रियलस्टेट व्यवसाय फैलिएको भन्दै सम्पत्तिमाथि प्रश्न उठाइएको थियो। साथै, जयवीरले आफ्ना बुवा प्रधानमन्त्री हुँदा डायपर र सेनिटरी प्याड आयातमा कर छुट हुनेगरी नीतिगत प्रभाव पारेको आरोप पनि लगाइएको थियो।
सोही सामग्रीलाई लिएर परेको उजुरीका आधारमा साइबर ब्युरोले अनुसन्धानका लागि पाठकलाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो, जसलाई अदालतले मंगलबार सदर गरेको हो। यद्यपि, प्रहरीले उजुरीकर्ताको नाम खुलाएको छैन, तर जयवीरले नै उजुरी दिएको आशंका गरिएको छ।

यसअघि नै, शंकर ग्रुपले वैशाख २१ गते विज्ञप्ति जारी गर्दै उक्त समाचारलाई भ्रामक र कपोलकल्पित भन्दै खण्डन गरेको थियो र कानुनी उपचारमा जाने चेतावनी दिएको थियो। विज्ञप्तिमा भनिएको थियो, राजनीतिक व्यक्ति र व्यापारिक घरानाको नाम जोडी हुँदै नभएको विषय सृजना गरी सार्वजनिक भएका यस्ता भ्रामक समाचारहरुले व्यवसायको प्रतिष्ठा र राजनीतिज्ञको राजनीतिक जीवनमा समेत नकारात्मक असर पुऱ्याउने कार्यप्रति गम्भीर आपत्ति जनाउँदै कानुनी प्रक्रिया अपनाइनेछ।
यो घटना सार्वजनिक भएलगत्तै प्रेस स्वतन्त्रतामाथि गम्भीर हमला भएको भन्दै चौतर्फी आलोचना भएको छ। नेपाली कांग्रेसकै सांसद डा. सुनिल शर्माले यसलाई ‘प्रेस स्वतन्त्रतामाथिको गम्भीर हमला’ भन्नु भएको छ, उहाँले प्रकाशित सामग्रीप्रति असन्तुष्टि भए प्रेस काउन्सिलमार्फत निरुपण हुनुपर्ने स्पष्ट कानुनी व्यवस्था हुँदाहुँदै सिधै अपराध ठहर गर्नु लोकतान्त्रिक मूल्यमाथिको हस्तक्षेप भएको भन्दै पक्राउ पुर्जी तत्काल फिर्ता लिन माग गर्नभएको छ । यस्तै चर्चित पत्रकार टिकाराम यात्रीले पनि प्रेस काउन्सिलको क्षेत्राधिकार मिचेर फौजदारी प्रक्रिया अघि बढाउनु ‘गैरकानुनी कदम’ र ‘प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप’ भएको बताउनु भएको छ ।

प्रेस चौतारी नेपाल संगठनले विज्ञप्ति जारी गर्दै समाचारको विषयमा विवाद निरुपण गर्ने संवैधानिक अधिकार प्रेस काउन्सिललाई रहेको स्मरण गराएको छ। चौतारीले अदालत र प्रहरी दुवैले आफ्नो निर्णयमा पुनर्विचार गरी प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता देखाउने विश्वास व्यक्त गरेको छ।

यसैबीच, पूर्वपत्रकार तथा एमाले सांसद सूर्य थापाले भने पाठकलाई कानुनी व्यवस्थाको सामना गर्न सुझाव दिनु भएको छ । उहाँले यस घटनाले ‘साइबर अपराध कि प्रेस स्वतन्त्रता’ भन्ने बहसलाई निष्कर्षमा पुग्न सघाउने विश्वास व्यक्त गर्नुभएको छ।