हाम्रो पेज
विराटनगर, १ अषाढ । सुनसरीको बराहक्षेत्र नगरपालिका १० स्थित प्रकाशपुरमा रहेको प्रकाश माध्यमिक विद्यालयका पूर्वविद्यार्धीहरुले विद्यार्थी पुनर्मिलन तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न गरेका छन् । उज्यालो प्रकाश मा. वि., उज्याला हाम्रा सन्तति भन्ने नारालाई आत्मसाथ गर्दै विद्यार्थीहरुले विद्यार्थी पुनर्मिलन एवम् शिक्षक सम्मान कार्यक्रम गरेका हुन् ।
बर्षौ अघि उक्त विद्यालयमा अध्ययन गरेका र विद्यालयबाट छुटेर टाढा टाढा पुगेका पुराना साथीहरुलाई सामाजिक सञ्जालको माध्यमबाट जोडेर पहिलोपटक यस्तो कार्यक्रम गरिएको पूर्वविद्यार्थी अर्जुन बुढाथोकीले जानकारी दिनुभयो । यसखाले कार्यक्रम आगामी दिनमा पनि निरन्तर गर्दै लैजानुपर्ने उहाँको भनाइ छ । कार्यक्रम आयोजना गर्ने खर्च पनि विद्यार्थीहरुले नै संकलन गरेको उहाँले बताउनुभयो ।
धेरैपछि पुराना तथा स्कूल पढ्ने साथीहरु र आफुलाई पढाउने शिक्षक शिक्षिकालाई भेट्दा धेरै विद्यार्थीले आफ्नो हर्षको आँशु रोक्न सकेनन् । कार्यक्रममा उक्त स्कूलमा स्थापनादेखि नै अध्यापन गराएका, स्कूलबाट अवकास पाएका, र हाल अध्यापन गराईरहेका शिक्षक शिक्षिकालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा उपस्थित भएका शिक्षक शिक्षिकाले पूर्वविद्यार्थीहरुले गरेको कामको प्रशंसा गर्दै आफ्ना पुराना दिनको याद ताजा गरिदिएको भन्दै विद्यार्थिीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । सो अवसरमा स्कूल प्राङ्गण र आसपासका क्षेत्रमा वृक्षारोपण समेत गरिएको थियो ।
वि.सं.२०२१ सालमा स्थापित उक्त स्कूल सुनसरी जिल्लाको उत्कृष्ट स्कूल मध्येको एक हो । कक्षा १ देखि १२ सम्म अध्ययन हुने उक्त स्कूलमा सातसय संख्यामा विद्यार्थी रहेको स्कूलका शिक्षक चन्द्र सिग्देलले जानकारी दिनुभयो । स्कूलमा बालबिकास कक्षासमेत सञ्चालन हुँदै आएको छ ।