search logo
NOTIFICATIONS

कांग्रेसको १५औँ महाधिवेशनः खुलामञ्चबाट नयाँ राजनीतिक सन्देश

हाम्रो पेज

१८ आश्विन २०८३, आईतवार १९:२१
कांग्रेसको १५औँ महाधिवेशनमा कसले के भने ?


काठमाडौं, १८ आश्विन । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौंको खुलामञ्चमा उद्घाटन समारोह सम्पन्न भएको छ। उद्घाटनसँगै महाधिवेशनको बन्दसत्र पनि खुलामञ्चमै सञ्चालन हुने भएको छ। ठूलो संख्यामा सहभागी हुने महाधिवेशन प्रतिनिधिलाई व्यवस्थित रूपमा सहभागी गराउने उद्देश्यले खुलामञ्चमा आवश्यक संरचना निर्माण गरिएको छ। बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ। खुलामञ्चमा बन्दसत्रका लागि तीनवटा ठूला संरचना तयार गरिएको छ। प्रतिनिधिहरूलाई भूगोलका आधारमा समूह विभाजन गरी तीनवटा हलमा प्रतिवेदनमाथि छलफल गराउने व्यवस्था गरिएको छ। कांग्रेसका प्रवक्ता देवराज चालिसेले प्रत्येक हलमा डिजिटल बोर्डको व्यवस्था गरिएको र त्यसबाट सहभागीहरूले प्रस्तुत प्रतिवेदन हेर्न तथा सुन्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो।

उद्घाटन समारोहमा कांग्रेसले निमन्त्रणा गरेका अधिकांश राजनीतिक दलका नेताहरू सहभागी हुनुभयो। नेकपा एमालेका अध्यक्षको स्थानमा महासचिव शंकर पोखरेल सहभागी हुनुभयो भने श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको प्रतिनिधिका रूपमा महासचिव आरेन राई सहभागी हुनुभयो। अन्य राजनीतिक दलका नेतृत्व तहका नेताहरूले पनि कार्यक्रममा सहभागी हुँदै महाधिवेशनको सफलताको शुभकामना दिनुभयो।

गगन थापा  लोकतन्त्रमा खुला संवाद आवश्यक

महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताउनुभयो। संसद र पार्टीभित्र पर्याप्त खुलापन आवश्यक रहेको उल्लेख गर्दै सभापति थापाले देशलाई संवाद र बहसका लागि थप ‘खुलामञ्च’ आवश्यक रहेको धारणा राख्नुभयो। १० वर्षपछि खुलामञ्च खुलेको उल्लेख गर्दै उहाँले खुलामञ्च काठमाडौंको एउटा चौर मात्र नभएको बताउनुभयो। नेपाली राजनीतिक आन्दोलनमा खुलामञ्चले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै उहाँले यही स्थानबाट धेरै राजनीतिक दल तथा नेताहरूले आफ्नो राजनीतिक यात्रा अघि बढाउनुभएको उल्लेख गर्नुभयो। सभापति थापाले जननायक बीपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालालगायत नेताहरूले समेत यही खुलामञ्चबाट राजनीतिक विचार व्यक्त गर्नुभएको स्मरण गर्नुभयो। उहाँले खुलामञ्चको विशेषता नै फरक विचार र मतभेदलाई एउटै सार्वजनिक स्थानमा ल्याएर संवाद गर्ने वातावरण निर्माण गर्नु भएको बताउनुभयो।

संसददेखि पार्टीभित्रसम्म खुलापन आवश्यक

सभापति थापाले अब देशका विभिन्न ठाउँमा यस्ता खुला संवादका थलो आवश्यक रहेको बताउनुभयो। त्यसका लागि सबैभन्दा पहिले सिंहदरबार र संसदभित्रै खुलापन आवश्यक रहेको उहाँको धारणा थियो। सत्तामा रहेकाहरूले जनताका प्रश्न सुन्नुपर्ने र जनतासँग निरन्तर संवाद गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। संसद जनताको आवाज र प्रश्नको प्रतिनिधित्व गर्ने थलो भएकाले त्यसलाई अझ खुला, उत्तरदायी र लोकतान्त्रिक बनाउनुपर्ने उहाँले बताउनुभयो। पहाडदेखि तराईसम्म र भौतिक स्थानदेखि विद्युतीय माध्यमसम्म नागरिकले आफ्ना कुरा राख्न र नेतृत्वलाई प्रश्न गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो। पार्टीभित्र पनि यही संस्कार विकास गर्नुपर्नेमा जोड दिँदै सभापति थापाले नेतृत्वमाथि प्रश्न गर्दा पार्टी सदस्यता नै गुम्ने अवस्था अन्त्य हुनुपर्ने बताउनुभयो। फरक मत राख्ने, नेतृत्वलाई प्रश्न गर्ने र आलोचना गर्ने अधिकारलाई पार्टीभित्रै संस्थागत गर्नुपर्ने उहाँको भनाइ थियो।

महाधिवेशन नेतृत्व चयनको कार्यक्रम मात्र होइन

सभापति थापाले कांग्रेसको १५औँ महाधिवेशनलाई नेतृत्व चयन गर्ने कार्यक्रमका रूपमा मात्र नलिन आग्रह गर्नुभयो। खुलामञ्चमा महाधिवेशन आयोजना गर्नुका पछाडि कांग्रेसले केही सन्देश लिनुपर्ने र केही सन्देश दिनुपर्ने उद्देश्य रहेको उहाँले बताउनुभयो। उहाँले खुलामञ्चले फरक विचार भएका व्यक्तिहरूलाई एउटै सार्वजनिक स्थानमा ल्याउने बताउँदै मतभेद अन्त्य गर्ने नभई मतभेदलाई एउटै साझा मञ्चमा राखेर संवाद गर्ने स्थानका रूपमा खुलामञ्चको महत्व रहेको उल्लेख गर्नुभयो। कांग्रेसले खुलामञ्चमा महाधिवेशन आयोजना गरेर नेपालमा यस्ता खुला संवादका थलो अझ धेरै आवश्यक रहेको सन्देश दिन खोजेको उहाँले बताउनुभयो।

बीपीको विचार र शेरबहादुर देउवाको योगदानको स्मरण

सभापति थापाले कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको योगदानलाई समेत स्मरण गर्नुभयो। डा। शशांक कोइराला महाधिवेशनमा उपस्थित नभए पनि बीपी कोइरालाको विचार र योगदान महाधिवेशनस्थलमा अनुभूत भइरहेको उहाँले बताउनुभयो। उहाँले पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पनि सम्मानपूर्वक स्मरण गर्नुभयो। शेरबहादुर देउवाका लागि कुर्सी राखिएको उल्लेख गर्दै सभापति थापाले उहाँ आएर महाधिवेशनको उद्घाटन गर्नुहुने अपेक्षा गरिएको बताउनुभयो। देउवाप्रतिको सम्मान उहाँलाई औपचारिक रूपमा सम्मान गर्ने विषयमा मात्र सीमित नभई उहाँले निर्माण गर्नुभएको पार्टीलाई अझ बलियो र उचाइमा पुर्‍याएर देखाउनुपर्ने उहाँले बताउनुभयो।

विश्व राजनीतिको प्रभावलाई समेत बुझ्नुपर्ने

सभापति थापाले मुलुकका वर्तमान समस्यालाई हल्का रूपमा लिन नहुने बताउनुभयो। नेपालका समस्या केवल आन्तरिक कारणले मात्र सिर्जना नभएको उल्लेख गर्दै उहाँले विश्व राजनीतिमा भइरहेका घटनाक्रमको प्रभाव नेपालमा समेत पर्न सक्ने बताउनुभयो। रुस–युक्रेन युद्ध तथा मध्यपूर्वमा भइरहेका घटनाक्रमको प्रभावबाट नेपाल पूर्ण रूपमा अलग रहन नसक्ने भन्दै उहाँले अन्तर्राष्ट्रिय परिस्थितिलाई समेत गम्भीरतापूर्वक विश्लेषण गर्नुपर्ने धारणा राख्नुभयो।

रवि लामिछानेः कांग्रेसको इतिहास महत्वपूर्ण शक्ति

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेसको लामो राजनीतिक इतिहासलाई पार्टीको महत्वपूर्ण शक्ति र चुनौती दुवैका रूपमा प्रस्तुत गर्नुभयो। सम्बोधनका क्रममा उहाँले कांग्रेसको राजनीतिक अभ्यासका विभिन्न पक्षबारे व्यंग्यात्मक तथा राजनीतिक टिप्पणी गर्नुभयो। निष्ठालाई राजनीतिक पूँजीका रूपमा प्राथमिकता दिइएको भए आफू पनि कांग्रेस हुन सक्ने धारणा उहाँले प्रस्तुत गर्नुभयो। समानुपातिक प्रतिनिधित्व, राजनीतिक अवसर र चुनावी अभ्यासका विषयमा समेत उहाँले आफ्नो दृष्टिकोण राख्नुभयो। सभापति लामिछानेले बालेन्द्र शाह नेतृत्वको सरकार तत्काल नढल्ने दाबी गर्नुभयो। सरकार ढल्ने चर्चा भइरहे पनि त्यसलाई जनादेशको सम्मानसँग जोडेर हेर्नुपर्ने उहाँले बताउनुभयो। यसपटक व्यक्तिलाई मात्र नभई परिवर्तनका लागि जनताले जनादेश दिएको उल्लेख गर्दै सभापति लामिछानेले जनमतको सम्मान गर्न आग्रह गर्नुभयो। सम्बोधनको अन्त्यमा उहाँले कांग्रेसभित्र सहकार्य र समन्वय सम्भव नहुने अवस्थाको समाधान खोज्न सभापति थापालाई सुझावसमेत दिनुभयो।

बाबुराम भट्टराई स् नयाँ पुस्तालाई विश्वास गर्नुपर्छ

पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले कांग्रेस सभापति गगनकुमार थापालाई बधाइ तथा शुभकामना दिनुभयो। नेपालको पुरानो लोकतान्त्रिक पार्टीको नेतृत्व सम्हाल्ने जिम्मेवारी प्राप्त गर्नुभएकोमा थापालाई बधाइ दिँदै डा। भट्टराईले कांग्रेसले २१औँ शताब्दीको आवश्यकताअनुसार नयाँ विचार, नीति र कार्यक्रमका साथ अघि बढ्नुपर्ने बताउनुभयो। नयाँ पुस्तालाई विश्वास गर्नुपर्नेमा जोड दिँदै उहाँले युवाहरूलाई राजनीतिक नेतृत्वमा अघि बढ्न प्रोत्साहित गर्नुभयो।

शंकर पोखरेलः राष्ट्रिय मुद्दामा राजनीतिक सहकार्य आवश्यक

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेसको १५औँ महाधिवेशनको सफलताको शुभकामना दिनुभयो। उहाँले वर्तमान सरकारका कामकारबाहीप्रति आफ्नो राजनीतिक दृष्टिकोण प्रस्तुत गर्दै सरकार र राजनीतिक दल, संसद तथा नागरिकबीच पर्याप्त संवाद हुनुपर्ने बताउनुभयो। राष्ट्रियता र लोकतन्त्रका विषयमा राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै महासचिव पोखरेलले मुलुकका चुनौती सामना गर्न साझा राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले लोकतन्त्रको भविष्यका विषयमा समेत गम्भीर बहस आवश्यक रहेको बताउनुभयो। जनताले निर्वाचित गरेको नेतृत्वले संसद, राजनीतिक दल र नागरिकसँग निरन्तर संवाद गर्नुपर्ने उहाँको भनाइ थियो।

प्रचण्डः कांग्रेस नयाँ इतिहासतर्फ अघि बढोस्

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभापति गगनकुमार थापालाई बधाइ दिँदै कांग्रेसले नयाँ राजनीतिक दिशातर्फ अघि बढ्ने प्रयास गरेको बताउनुभयो। निरन्तरतामा क्रमभंग गर्दै कांग्रेसलाई नयाँ इतिहासतर्फ अघि बढाउने प्रयास भएको उहाँले उल्लेख गर्नुभयो। उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेललगायत नेताहरूको सहयोगमा सभापति थापाले कांग्रेसलाई नयाँ दिशातर्फ अघि बढाउन सक्ने विश्वास उहाँले व्यक्त गर्नुभयो। नयाँ पुस्ता राजनीतिमा अघि आउँदा ज्येष्ठ पुस्ताको योगदानलाई सम्मान गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।

 राजेन्द्र लिङ्देनः नयाँ राष्ट्रिय समझदारी आवश्यक

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक परिवर्तन भए पनि जनताको चाहनाअनुसारको समाज निर्माण गर्न अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो। देशमा राजनीतिक तरलता कायम रहेको उल्लेख गर्दै उहाँले राजनीतिक दलहरूलाई मुलुकका विद्यमान चुनौतीप्रति गम्भीर बन्न आग्रह गर्नुभयो। २००७ साल, २०४६ साल, २०६२र६३ सालका राजनीतिक परिवर्तन तथा पछिल्लो पुस्ताको आन्दोलनबाट आएका अपेक्षालाई समेत समेटेर नयाँ राष्ट्रिय समझदारी निर्माण गर्नुपर्ने उहाँको धारणा थियो। विगतका राजनीतिक घटनाक्रमबाट पाठ सिक्दै निषेधको राजनीतिभन्दा संवाद र सहकार्यका माध्यमबाट मुलुक अघि बढाउनुपर्ने उहाँले बताउनुभयो।

 रेशम चौधरीः पहिचान र समावेशिताको विषय उठाउनुभयो

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले संविधानमा सुनिश्चित गरिएका अधिकारको प्रभावकारी कार्यान्वयन तथा राज्यका महत्वपूर्ण निकायमा समावेशी प्रतिनिधित्वको विषय उठाउनुभयो। लोकतान्त्रिक आन्दोलनमा थारू समुदायले पुर्‍याएको योगदानको स्मरण गर्दै उहाँले राज्यका निर्णायक तहमा थारू समुदायको प्रतिनिधित्वका विषयमा गम्भीर ध्यान दिनुपर्ने बताउनुभयो। गणतन्त्र प्राप्तिपछि पहिचान, धर्म, संस्कृति र समुदायका अधिकारसँग सम्बन्धित विषयमा समेत पर्याप्त बहस आवश्यक रहेको उहाँले बताउनुभयो। उहाँले टीकापुरलाई जिल्ला बनाउने मागलाई पनि पुनः स्मरण गराउनुभयो।

नेतृत्व चयनसँगै नीतिगत बहसको अपेक्षा

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अब बन्दसत्रतर्फ अघि बढेको छ। उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामनासहित आ–आफ्ना राजनीतिक धारणा प्रस्तुत गर्नुभएको छ। खुलामञ्चमा आयोजना गरिएको महाधिवेशनले लोकतान्त्रिक संवाद, फरक मतको सम्मान, नयाँ पुस्ताको सहभागिता तथा राष्ट्रिय सहकार्यको विषयलाई प्राथमिकतामा राखेको देखिन्छ। अब बन्दसत्रमा प्रस्तुत हुने प्रतिवेदन, त्यसमा हुने छलफल तथा महाधिवेशनबाट तय हुने नीति र नेतृत्वले कांग्रेसको आगामी राजनीतिक यात्रा निर्धारण गर्नेछ। बदलिँदो राजनीतिक परिस्थिति, जनताको अपेक्षा र नयाँ पुस्ताको आकांक्षालाई सम्बोधन गर्दै कांग्रेसले आगामी दिनमा आफूलाई कसरी अघि बढाउँछ भन्ने विषयलाई पनि महाधिवेशनको महत्वपूर्ण परिणामका रूपमा हेरिएको छ।