search logo
NOTIFICATIONS

अविरल वर्षाले ठाउँ ठाउँमा सडक अवरुद्ध, सतर्कता अपनाउन आग्रह

हाम्रो पेज

९ आश्विन २०८३, शुक्रबार १६:५२

काठमाडौं, ९ आश्विन । निरन्तरको वर्षासँगै आएको बाढी तथा पहिरोका कारण देशको विभिन्न प्रदेश जोड्ने प्रमुख राजमार्ग तथा सहायक सडक खण्ड पूर्ण एवं आंशिक रूपमा अवरुद्ध भएका छन् । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा नेपाल प्रहरीद्वारा जारी पछिल्लो अद्यावधिक विवरणअनुसार बाढी–पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै विभिन्न स्थानमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

कोशी प्रदेशको सोलुखुम्बुमा भारी वर्षाको पूर्वानुमानका कारण असोज ८ गते बेलुकी ६ बजेदेखि ९ गते बिहान ६ बजेसम्मका लागि सिद्धिचरण लोकमार्गसहित आन्तरिक सडकमा अत्यावश्यक बाहेकका सवारी साधन र पैदल यात्रुलाई रात्रिकालीन आवतजावतमा पूर्ण रोक लगाइएको थियो। पाँचथरको तमोर–कोरिडोर अन्तर्गत तुम्बेवा गाउँपालिका –२ नावाखोलामा बाढी आएका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। भोजपुरस्थित मध्यपहाडी लोकमार्ग लगायतका भित्री सडकमा सम्भावित क्षति रोकथामका लागि एम्बुलेन्स, दमकल, र खाद्यान्न बोकेका अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रातिको समयमा रोक लगाइएको छ।

इलामको मेची राजमार्ग तथा मेची कोरिडोरसहित सडकमा असोज ११ गतेसम्म रातिको समयमा ९बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म० सवारी साधन आवतजावत बन्द गरिएको छ। ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग अन्तर्गत मानेभञ्ज्याङ गाउँपालिका–६, भँडारे खोलामा बाढीका कारण सडक अवरुद्ध भएको छ। बागमती प्रदेशमा काभ्रेपलाञ्चोकको बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका –८ किम्तिबेसी, वडा नं ४ को चारसयवेशी र वडा नं ८ स्थित गिम्दीवेशी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। असोज ११ गतेसम्म बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा सवारी आवतजावतमा रोक लगाइएको छ।

पासाङल्हामु राजमार्ग तथा त्रिशुली–मैलुङ–स्याफ्रुवेशी–तिमुरे–रसुवागढी सडक खण्डमा बाढीका कारण आवतजावत पूर्ण रूपमा ठप्प बनेको छ। टोखा–छहरे सडक खण्डको शिवपुरी गाउँपालिका –८ घट्टेखोलामा सम्भावित जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। धादिङस्थित पृथ्वी राजमार्गको गजुरी –६ जहरे क्षेत्रमा खसेको पहिरो हटाई सडक सुचारु गरिएको छ । गजुरी –२ फुर्केखोलामा बाढीका कारण कालुपाण्डे राजमार्ग अवरुद्ध छ। बेनीघाट रोराङ –७ स्थित कृष्णभिर र वडा नं १० को तिङराङखानीमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध छ। यस्तै, कान्तिलोकपथ अन्तर्गत ललितपुरको गोदावरी –६, बिखेधारा र बागमती –३, भट्टेडाँडा क्षेत्रमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ।

गण्डकी प्रदेशका कास्की, मुस्ताङ, पर्वत, म्याग्दी, नवलपरासी पूर्वमा सम्भावित बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै ग्रामीण तथा जिल्ला भित्रका सम्पूर्ण सडकमा असोज ९ देखि ११ गतेसम्म रातिको समयमा ९बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म० सवारी सञ्चालनमा रोक लगाइएको छ। दाङस्थित राप्ती राजमार्ग ९तुलसीपुर–कपुरकोट खण्ड०, भालुवाङ–चकचके खण्ड, र घोराही–होलेरीरमुर्कुटी सडक खण्डमा असोज ११ गतेसम्म बेलुकी ५ बजेदेखि बिहान ६ बजेसम्म रात्रिकालीन सवारी आवतजावत बन्द गरिएको छ।

रोल्पा नगरपालिका –७ माडिचौरस्थित मदन भण्डारी राजमार्गमा असोज १२ गतेसम्मका लागि रात्रिकालीन समयमा सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ। प्रहरी तथा स्थानीय प्रशासनले विपद्को जोखिम यथावत् रहेकाले पूर्वसूचना ध्यानमा राखी, अत्यावश्यक काम बाहेक रातिको समयमा यात्रा नगर्न र यात्रा गर्नुअघि सडकको स्थितिबारे जानकारी लिन सर्वसाधारणमा आग्रह गरेका छन्।

धादिङ, नुवाकोट र रसुवामा यातायात ठप्प

अविरल वर्षाका कारण धादिङ, नुवाकोट र रसुवा जिल्लाका सडक विभिन्न स्थानमा अवरुद्ध भएका छन् । अविरल वर्षासँगै खसेको पहिरो र लेदोका कारण धादिङको ज्यामिरे, कृष्णभिर, जवानखोला, मलेखु परेवाभिर कमेरेभिर र खहरेमा बाटो बन्द भएको जिल्ला प्रशासन कार्यालय, धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले बताउनुभयो । उहाँले वर्षा निरन्तर भइरहेका कारण सडक तत्काल सुचारु हुने सम्भावना नरहेको र पहिरो हटाउने प्रयास निरन्तर जारी रहेको जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी पाण्डेयले पहिरोग्रस्त क्षेत्रमा यात्रा गर्दा उच्च जोखिम भएकाले यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटका सूचना अधिकारी रुपेश नेपालले वर्षाका कारण जिल्लामा आवागमनमा समस्या भएको बताउनुभयो । अवरिल वर्षाका कारण हुनसक्ने सम्भावित विपदप्रति उच्च सतर्कता अपनाइएको सूचना अधिकारी नेपालको भनाइ छ । सुरक्षा समिति, उद्धार टोली सबै तयारी अवस्थामा राखिएको छ, नेपालले भन्नुभयो।  रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार भोटेकोशी बाढीका कारण पहिलेदेखि नै सडक क्षतिग्रस्त भएको र वैकल्पिक मार्ग समेत वर्षाका कारण अवरुद्ध भएको छ। जिल्ला प्रशासन कार्यालय, रसुवाले सतर्क रहन सर्वसाधारणलाई अपील गरेको र सुरक्षा निकाय, स्थानीय तह सजग अवस्थामा रहेका सहायक प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा यात्रु तथा सवारी साधनबिच बाटोमै अलपत्र परेका छन् भने दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समेत समस्या उत्पन्न भएको छ।