भारत र चीनसहित १३ देशमा राजदूत सिफारिस, को कहाँ ?

हाम्रो पेज

२ आश्विन २०८३, शुक्रबार १८:३५

काठमाडौं, २ आश्विन । वालेन्द्र शाह नेतृत्वको सरकारले विभिन्न १३ देशका लागि राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ। अघिल्लो सरकारले नियुक्त गरेका राजदूत हटाएको ६ महिनापछि सरकारले नयाँ कूटनीतिज्ञ पठाउन सिफारिसको निर्णय लिएको हो। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बेलायत, जर्मनी, भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत नियुक्त गर्न सिफारिसको निर्णय गरेको हो।
लामो समयसम्म अमेरिका, भारत, चीन, बेलायत र अस्ट्रेलियासहित १८ वटा देशमा राजदूत पद रिक्त रहँदा सरकारको कूटनीतिक प्राथमिकतामाथि प्रश्न उठेको थियो । प्रधानमन्त्री आफैं अमेरिका जान लाग्दा त्यहाँस्थित राजदूत नियुक्त नगरिएपछि विरोध भएको थियो। सरकारले राजदूत नियुक्तिका लागि खुला आवेदन आह्वान गरेको थियो । लामो समयसम्म आवेदन दिएका उम्मेदवारको संख्या, सर्टलिस्टमा परेका नाम वा छनोट प्रक्रियाबारे गुपचुप राखिएको थियो । जसका कारण नियुक्ति प्रक्रियाको पारदर्शितामाथि प्रश्न उठेको थियो ।
कूटनीतिक रूपमा महत्वपूर्ण मुलुकमा पूर्णकालीन राजदूत नहुँदा द्विपक्षीय सम्बन्ध, लगानी प्रवर्द्धन, व्यापार विस्तार तथा नेपाली नागरिकसँग सम्बन्धित सेवा प्रवाहसमेत प्रभावित भएको थियो । राजदूत नियुक्ति प्रशासनिक प्रक्रिया मात्र नभई नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कूटनीति, वैदेशिक लगानी, पर्यटन प्रवर्द्धन तथा विदेशमा रहेका नेपालीको हितसँग प्रत्यक्ष जोडिएको विषय हो । यस्तो अवस्थामा सरकारले ६ महिना गुजारेर नयाँ राजदूत सिफारिस गरेको हो।

सिफारिस राजदूतहरु

१ डा. निश्चलनाथ पाण्डे  भारतका लागि प्रस्तावित राजदूत

२. डा. कल्याणराज शर्मा चीनका लागि प्रस्तावित राजदूत

३. चिरनजंग थापा संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत

४. पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा अवकाशप्राप्त संयुक्त अधिराज्य यूके  का लागि प्रस्तावित राजदूत

५. जिग्यान कुमार थापा, जापानका लागि प्रस्तावित राजदूत

६. सुरेशकुमार कर्ण – इजरायलका लागि प्रस्तावित राजदूत

७.प्राप्ति शेरचन – स्पेनका लागि प्रस्तावित राजदूत

८. शारू जोशी – जर्मनीका लागि प्रस्तावित राजदूत

९. डा. पद्माक्षी राणा – ओमानका लागि प्रस्तावित राजदूत
१०. चूडामणि खरेल – मलेसियाका लागि प्रस्तावित राजदूत
११. प्रा. डा. सङ्गम श्रेष्ठ – दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत
१२. डा. मंचल झा – श्रीलंकाका लागि प्रस्तावित राजदूत
१३. गिरीबहादुर सुनार – साउदी अरेबियाका लागि प्रस्तावित राजदूत

त्यस्तै, मन्त्रिपरिषद्को बैठकले नेपाल नागरिकता पाँचौँ संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। त्यसैगरी साविकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहने गरी नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३ संशोधन गरिएको छ। यसैगरी मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत् प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गर्ने र सहसचिव रुद्र सिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ।