भोटेकोशी बाढी अपडेटः १ हजार ३९९ जनाको शव फेला,४ हजार ८९ जना वेपत्ता

हाम्रो पेज

३० भाद्र २०८३, मंगलवार १३:००

काठमाडौं, ३० भाद्र । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य तीव्र पारिएको छ। नेपाल प्रहरीका अनुसार भदौ ३० गते बिहान ८ बजेसम्म बाढीका कारण ४ हजार ८९ जना वेपत्ता रहेका छन्। वेपत्ता हुनेहरूमा ३ हजार ४७९ जना स्वदेशी २,९०७ पुरुष र ५७२ महिला तथा ६१० जना विदेशी ९२७२ पुरुष, ३८ महिला र १० अन्य रहेका छन्। बाढी प्रभावित क्षेत्रबाट हालसम्म ९ हजार २८७ जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकाहरूमा ६ हजार ४०७ पुरुष, २ हजार ८३० महिला र ५० जना पहिचान नखुलेका व्यक्तिहरू रहेका छन्।

उद्धारका लागि प्रभावित क्षेत्रमा ७ हजार ९७५ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ। बाढीका कारण ६५ जना प्रहरी प्रभावित भएका छन् भने २५ जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। हालसम्म १ हजार ३९९ वटा शव तथा आंशिक अङ्ग फेला परेका छन्, जसमध्ये ५४४ पुरुष, ३३६ महिला र ५१९ वटा आंशिक अङ्ग रहेका छन्। फेला परेकामध्ये १०३ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ भने १ हजार २३० वटा शव जमिनमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ। पहिचान नभएका १ हजार ३५५ वटा शवको विवरण प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ।


शव तथा अङ्गहरूको पहिचानका लागि डिएनए संकलन कार्यलाई समेत अघि बढाइएको छ। हालसम्म शवहरूबाट १ हजार २८६ र वेपत्ताका आफन्तहरूबाट १ हजार ८८९ गरी कुल ३ हजार १७५ वटा डिएनए नमुना संकलन भइसकेको छ। उद्धार गरिएकाहरूमध्ये ३ हजार ८८० जनालाई हाल होल्डिङ सेन्टरमा राखिएको छ। यस्तै, प्रहरीले प्रभावित क्षेत्रमा २०१ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी ४७ हजार ९२६ जनालाई सहभागी गराएको छ।