हाम्रो पेज


गोली चलेकै स्थानमा अन्त्येष्टि गर्ने तयारी भइरहेको र साँझसम्ममा दाहसंस्कार गरिसक्ने कार्यक्रम रहेको मेहताले बताउनुभयो । गत साउन १० गते देवानगन्ज ३ कप्तानगन्जमा दुई पक्षबीच भएको झडपका क्रममा प्रहरीको गोलीले उनी घाइते भएका थिए। थप उपचारका लागि काठमाडौं लगिएको थियो । सरकारले सुनसरीको देवानगन्ज र सिरहामा भएका झडपमा ज्यान गुमाएका चार जनालाई सहिद घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले देवानगन्जका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रवीन्द्र मेहता र सिरहाका गणेशकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो । सरकारको यो निर्णयसँगै पीडित पक्षले गर्दै आएको आन्दोलन स्थगित भएको छ । सहिद घोषणा र दोषीलाई कारबाहीको माग गर्दै आफन्तले शव बुझ्न अस्वीकार गरेपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको रवीन्द्रको शव ल्याइएको हो । गृहमन्त्री र पीडित पक्षबीच सोमबार भएको सात बुँदे सहमतिपछि मन्त्रिपरिषद्ले यो निर्णय लिएको हो । सहमतिअनुसार मृतकका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराइने छ भने परिवारका एक–एक जना सदस्यलाई रोजगारीको अवसर दिइने छ । देवानगन्ज गाउँपालिकाका अध्यक्ष बेचन मेहताका अनुसार रोजगारीका लागि सम्बन्धित परिवारका सदस्यको नाम सरकारलाई बुझाइसकिएको छ ।