हाम्रो पेज

काठमाडौं, २२ श्रावण । नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ औपचारिक रूपमा शुरु भएको छ । अर्थ मन्त्रालयमा शुक्रवार आयोजित एक विशेष कार्यक्रमका बीच साउन महिनाको पहिलो पाक्षिक अवधिका विजेताहरूको घोषणा गर्दै यस कार्यक्रमको शुभारम्भ गरिएको हो । वस्तु तथा सेवा खरिद–विक्रीमा बिल बिजक लिने र दिने संस्कारलाई प्रोत्साहित गरी अर्थतन्त्रलाई औपचारिकीकरण र पारदर्शी बनाउने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो । मूल्य अभिवृद्धि कर ९भ्याट० लाई राजस्वको दिगो स्रोतका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको छ । आन्तरिक राजश्व विभागकाअनुसार २०८३ साउन १ गतेदेखि १५ गतेसम्मका १६ जना उपहार विजेताहरूको छनोट गरिएको छ । यसमा प्रत्येक दिनका एक–एक जना गरी १५ जना र साउनको पहिलो १५ दिनका लागि एक जना ‘बम्पर’ उपहार विजेता रहेका छन् । दैनिक विजेताले १ लाख १२ हजार ३७४ रुपैयाँ र बम्पर उपहार विजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने व्यवस्था छ । विजेताहरूको छनोट ‘क्रिप्टोग्राफिकली सेक्युर्ड युनिफर्म ¥याण्डम स्याम्पलिङ’ प्रविधिबाट गरिएको विभागले जनाएको छ । यो पूर्णतः कम्प्युटरकृत प्रणाली भएको र यसमा कुनै पनि मानवीय हस्तक्षेप वा विभेद नहुने भएकाले प्रक्रिया निष्पक्ष रहने आन्तरिक राजस्व विभागका महानिर्देशक डा। भीष्मकुमार भुसालले जानकारी दिनुभयो ।
साउन १ देखि १५ गतेसम्मको अवधिमा उपभोक्ताहरूले गरेका ७ हजार ७७ वटा नगद कारोबारको विवरण विभागको वेबसाइटमा प्रविष्ट भएको छ, जसको कुल मूल्य ८ करोड २४ लाख रुपैयाँ रहेको छ । यसमा ३ हजार ९ सय १५ विक्रेता आवद्ध छन् ।
त्यसैगरी, सोही अवधिमा अनलाइन भुक्तानीमार्फत २ करोड ५६ लाख ८ हजार भन्दा बढी कारोबार भएका छन् । अनलाइन भुक्तानीबाट हुने ७६ अर्ब ६० करोड ३ लाख रुपैयाँ बराबरको कारोबारलाई भने छुट्टै प्रविष्ट गरिरहनु नपर्ने र ती स्वतः उपहार कार्यक्रममा समावेश हुने व्यवस्था मिलाइएको छ ।
छनोट भएका विजेताहरूको कुपन नम्बर र संक्षिप्त विवरण विभागको वेबसाइटमा प्रकाशन गरिनेछ । व्यक्तिगत गोपनीयतालाई ध्यानमा राख्दै विजेताको पूरा नाम र मोबाइल नम्बर भने सार्वजनिक गरिएको छैन । उपहार जित्ने उपभोक्ताले १५ दिनभित्र नजिकैको आन्तरिक राजश्व कार्यालयमा गएर पुरस्कार रकम दाबी गर्नसक्ने विभागले जनाएको छ । बिलिङ संस्कारलाई प्रवद्र्धन गर्न उपभोक्तालाई प्रोत्साहन दिने सरकारको नीति अनुरूप यो कार्यक्रम ल्याइएको बताउनु भयो । शिव कृष्ण जेनरल स्टोरमा २ सय ५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले १० लाख रुपैयाँको करदाता प्रोत्साहन उपहारको साउन महिनाको १५ दिनको बम्पर उपहार जित्नुभएको छ ।
कार्यविधिअनुसार नेपालभित्र एक पटकमा १०० रुपैयाँभन्दा बढी मूल्यको वस्तु वा सेवा खरिद गर्ने उपभोक्ता कार्यक्रममा सहभागी हुन सक्नेछन्। विद्युतीय माध्यमबाट गरिएको भुक्तानी स्वतः कार्यक्रममा समावेश हुनेछ भने नगद भुक्तानी गरेका उपभोक्ताले विभागको प्रणालीमा बिल नम्बर, विक्रेताको प्यान, बिल जारी मिति, कुल रकम, भुक्तानीको प्रकार, खरिदकर्ताको नाम र मोबाइल नम्बर प्रविष्ट गरी सहभागी हुन सक्नेछन्। यद्यपि व्यावसायिक प्रयोजनका खरिद, सरकारी निकाय वा सार्वजनिक संस्थाको नाममा जारी भएका बिल, टेलिफोन, इन्टरनेट, विद्युत, सवारी तथा ढुवानी सेवा, हवाई टिकट तथा प्यान नभएका व्यक्तिबाट जारी भएका बिल भने कार्यक्रममा समावेश हुने छैनन्। उपहार प्राप्त गर्न विजेताले घोषणा भएको मितिले १५ दिनभित्र सक्कल बिल, नागरिकता वा अन्य आधिकारिक परिचयपत्र, बैंक खाताको विवरण र स्थायी लेखा नम्बर प्यानसहित नजिकको आन्तरिक राजस्व कार्यालयमा निवेदन दिनुपर्नेछ। आवश्यक कागजात प्रमाणीकरणपछि विभागले उपहार रकम सम्बन्धित बैंक खातामा सिधै जम्मा गर्नेछ।