हाम्रो पेज
विराटनगर, २९ असार । विराटनगर– ५ स्थित एभरेष्ट माध्यामिक विद्यालयले भानु जयन्तीका अवसरमा कविता वाचन प्रतियोगिता र स्रष्टालाई सम्मान गरेको छ ।विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा कक्षा ११ र १२ का २४ प्रतियोगीले विभिन्न शिर्षकमा कविता वाचन गरेका थिए । ति मध्ये उत्कृष्ट चारलाई नगद सहित पुरस्कृत गरिएको छ । ‘भानु हेर तिम्रो देश’ शिर्षकमा कविता वाचन गरेकी कक्षा १२ की छात्रा सौमिका ढकाल प्रथम हुँदै नगद १० हजार प्राप्त गरिन्। यस्तै कक्षा १२ का प्रेम खतिवडा ‘फर्कि आउ घर’ शीर्षकको कविता वाचन गर्दै दोस्रो भए। उनले नगद ७ हजार रुपैयाँ प्राप्त गरे । ‘प्रकृतिको मौन पुकार’ शिर्षकमा कविता वाचन गरेका कक्षा ११ का आर्जन बरालले तृतीय हुँदै नगद ५ हजार र कक्षा १२ का रियोज मास्केले ‘मुकुण्डो र मुकुट’ शिर्षकमा कविता वाचन गर्दै सान्त्वना पुरस्कार प्राप्त गरे । मास्के नगद ३ हजार सहित पुरस्कृत भए ।
साहित्यकार कवयित्री निर्मला कोइराला र कवि मिनकुमार नवोदित निर्णायक रहेको कार्यक्रममा प्रतियोगिहरुले विभिन्न क्षेत्रका विषयलाई समेटेर कविता वाचन गरेका थिए । कार्यक्रमका अवसरमा साहित्यकार तथा कवि रोहिणी रशिकलाई सम्मान गरिएको थियो । उनलाई कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तथा राष्ट्रियसभा सदस्य खेम नेपाली र विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले दोसल्ला, सम्मानपत्र र नगद १५ हजार ५ रुपैयाँले सम्मान गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खेम नेपालीले कविताका माध्यमबाट ठूला–ठूला परिवर्तन सम्भव रहेको भन्दै विद्यार्थीहरुलाई निरन्तरताका लागि हौसला प्रदान गरे । उनले कविताले देशको संस्कृति, सभ्यता र इतिहासलाई जीवन्त राख्ने भन्दै त्यसतर्फ ध्यान दिन आवश्यक रहेको बताए ।
विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले समयक्रम सँगै पुस्तान्तरण र हस्तान्तरण हुनु प्रकृतिको नियम रहेको बताए। उनले पुस्तान्तरण र हस्तान्तरणको नाममा इतिहास र अग्रजको अवमूल्यन भने गर्न नहुने बताए।