हाम्रो पेज
![]()
विराटनगर, २३ असार । फिफा विश्वकप २०२६ को अन्तिम–१६ चरणमा दुई फरक भावनाका कथा लेखिए। एउटा खेलले फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रालाई दुःखद अन्त्य गरायो भने अर्को खेलमा बेल्जियमले आयोजक अमेरिका माथि प्रभावशाली जित निकाल्दै अन्तिम आठमा स्थान सुरक्षित गर्यो।
रोनाल्डोको विश्वकप सपना आँसुमै समाप्त
युरोपेली च्याम्पियन स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अतिरिक्त समयको दोस्रो हाफमा वैकल्पिक खेलाडी मिकेल मेरिनोले गरेको निर्णायक गोल नै खेलको अन्तर बन्यो।
डलासमा भएको अपेक्षाभन्दा निकै फिक्का खेलमा दुवै टोलीका स्टार खेलाडीहरू आफ्नो वास्तविक स्तरमा देखिन सकेनन्। स्पेनले बल नियन्त्रण र रक्षात्मक संगठनमा स्पष्ट प्रभुत्व जमाउँदा पोर्चुगलले सिर्जना गरेका अवसर निकै सीमित रहे। पोर्चुगलका तर्फबाट लक्ष्यतर्फ प्रहार गर्ने खेलाडी क्रिस्टियानो रोनाल्डो मात्र थिए। मेरिनोले फेरान टोरेसको उत्कृष्ट पासलाई सदुपयोग गर्दै गोल गरेपछि पोर्चुगल पुनरागमन गर्न असफल रह्यो। खेलको अन्त्यतिर ब्रुनो फर्नान्डेसको फ्रिकिकमा बराबरी गोल गर्ने सुनौलो अवसर रोनाल्डोसँग आए पनि उनी बलसम्म पुग्न सकेनन्।
हारसँगै ४१ वर्षीय रोनाल्डोको विश्वकप उपाधि जित्ने जीवनभरको सपना अधुरै रह्यो। खेलअघि नै उनले यो आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरेका थिए। अन्तिम सिटी बज्नासाथ आँसुले भरिएका आँखासहित उनी निकै भावुक बनेका थिए। दुई दशकभन्दा बढी समय अन्तर्राष्ट्रिय फुटबलमा प्रभुत्व जमाएका रोनाल्डोको विश्वकप यात्रा सुखद अन्त्य हुन सकेन। यद्यपि उनले यस विश्वकपमै लगातार ६ संस्करणमा गोल गर्ने पहिलो खेलाडीको ऐतिहासिक कीर्तिमान कायम गर्दै आफ्नो महान् करियरमा अर्को उपलब्धि थपेका छन्। उज्बेकिस्तानविरुद्ध दुई गोल गर्दै उनले उक्त इतिहास रचेका थिए।
पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले अनुभवी रोनाल्डोलाई प्राथमिकता दिँदा युवा स्ट्राइकर गोन्सालो रामोसले स्पेनविरुद्ध एक मिनेट पनि खेल्ने अवसर पाएनन्। यस निर्णयमाथि खेलपछि व्यापक बहस सुरु भएको छ। रोनाल्डोले पूरै खेलमा केवल १९ पटक मात्र बल छोएका थिए, जुन सुरुआती टोलीका खेलाडीमध्ये सबैभन्दा कम थियो। यता स्पेनले लगातार छ विश्वकप खेलसम्म विपक्षीलाई गोल गर्न नदिने नयाँ इतिहास बनाएको छ। लुइस डे ला फुएन्टेको टोली सन् २०१० मा विश्व च्याम्पियन बनेयता पहिलो पटक क्वार्टरफाइनलमा पुगेको हो। अब स्पेनले सेमिफाइनल प्रवेशका लागि बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ।
बेल्जियमको चार गोल, आयोजक अमेरिका पनि बाहिरियो
अर्को अन्तिम–१६ को खेलमा बेल्जियमले सहआयोजक अमेरिका माथि ४–१ को प्रभावशाली जित निकाल्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। सियाटलमा भएको खेलमा चाल्र्स डे केटलेरले दुई गोल गर्दा हान्स भानाकेन र रोमेलु लुकाकुले एक–एक गोल थपे। अमेरिकाका लागि मालिक टिलम्यानले एक गोल फर्काए। बेल्जियमले नवौं मिनेटमै निकोलस रास्किनको क्रसमा डे केटलेरको गोलबाट अग्रता लिएको थियो। ३०औँ मिनेटमा टिलम्यानले फ्रिकिकमार्फत बराबरी गोल गरे पनि तीन मिनेटपछि डे केटलेरले दोस्रो गोल गर्दै बेल्जियमलाई पुनः अग्रता दिलाए।
दोस्रो हाफमा अमेरिकी गोलकिपर म्याट फ्रिजको गल्तीपछि भानाकेनले तेस्रो गोल गरे भने इन्जुरी समयमा रोमेलु लुकाकुले चौथो गोल गर्दै बेल्जियमको सहज जित सुनिश्चित गरे। मुख्य प्रशिक्षक रुडी गार्सियाले केभिन डे ब्रुयन र जेरेमी डोकुजस्ता स्टार खेलाडीलाई बेन्चमा राख्ने साहसी निर्णय गरेका थिए, जुन पूर्ण रूपमा सफल सावित भयो। यो हारसँगै अमेरिका पनि अन्तिम–१६ बाटै बाहिरियो। यसअघि क्यानडा र मेक्सिको पनि प्रतियोगिताबाट बाहिरिसकेका थिए। यससँगै विश्वकप आयोजना गर्ने तीनवटै राष्ट्रको यात्रा समाप्त भएको छ। बेल्जियम २०१८ पछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो। अब उसले सेमिफाइनल प्रवेशका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।
आजका खेल
विश्वकप अन्तर्गत आज राति दुई क्वार्टरफाइनल प्रवेशको प्रतिस्पर्धा हुनेछ।
अर्जेन्टिना – इजिप्ट
कोलम्बिया – स्विट्जरल्यान्ड