हाम्रो पेज

एजेन्सी, ११ असार । गहिरो राजनीतिक र आर्थिक सङ्कटबाट गुज्रिरहेको भेनेजुएलामाथि प्राकृतिक विपत्तिको अर्को ठूलो बज्रपात परेको छ। बुधबार साँझ केही सेकेन्डको अन्तरालमा आएका दुई शक्तिशाली भूकम्पले देशका विभिन्न क्षेत्रमा व्यापक क्षति पुर्याएका छन्। प्रारम्भिक विवरणअनुसार भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पबाट अहिलेसम्म सात सय बढी घाइते भएको बताएकी छन् । यसैबीच, भूकम्पपछि सरकारले प्रभावित क्षेत्रहरूमा ग्यास आपूर्ति अस्थायी रूपमा बन्द गरेको छ ।
गृहमन्त्री डिओसडाडो काबेलोले धेरै भवनहरूमा क्षति पुगेको र ग्यास चुहावट वा विस्फोट जस्ता घटनाहरू रोक्न यो सावधानी अपनाइएको बताएका छन् । हजारौँ मानिसको ज्यान गएको आशंका गरिएको छ भने ठूलो संख्यामा नागरिक घाइते तथा विस्थापित भएका छन्। अमेरिकी भूगर्भीय सर्वेक्षण यूएसजीएसका अनुसार पहिलो ७ दशमलव २ म्याग्निच्युडको भूकम्प गएलगत्तै करिब ४० सेकेन्डपछि ७दशमलव५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको थियो। त्यसपछि २० भन्दा बढी पराकम्प महसुस गरिएको छ, जसका कारण त्रसित नागरिकहरू रातभर खुला स्थान र सडकमा बस्न बाध्य भएका छन्। भूकम्पबाट राजधानी काराकाससहित ला गुइरा, अरागुआ, काराबोबो र फाल्कोन राज्यहरू सबैभन्दा बढी प्रभावित भएका छन्। राजधानीका धेरै आवासीय भवन, व्यावसायिक संरचना तथा सार्वजनिक पूर्वाधारमा गम्भीर क्षति पुगेको जनाइएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा भवनहरू भत्किएको, पहाडी बस्तीहरूमा पहिरो गएको तथा सडक चिराचिरा परेको दृश्य देखिन्छ।
यूएसजीएसको ‘पेजर’ प्रणालीले मानवीय क्षति अत्यन्त ठूलो हुन सक्ने संकेत गरेको छ। प्रारम्भिक मूल्याङ्कनअनुसार मृतक संख्या १० हजारदेखि १ लाखसम्म पुग्न सक्ने अनुमान गरिएको छ। क्यालिफोर्निया विश्वविद्यालय, सान डिएगोका भूभौतिकशास्त्री वाशान राइटका अनुसार पेजर प्रणालीले भूकम्पको तीव्रता, गहिराइ, प्रभावित क्षेत्रको जनघनत्व, भवन संरचना तथा ऐतिहासिक तथ्याङ्कको विश्लेषण गरी सम्भावित क्षतिको अनुमान गर्छ। उनका अनुसार यस्तो प्रणालीबाट प्राप्त प्रारम्भिक अनुमान धेरैजसो अवस्थामा वास्तविक अवस्थासँग नजिक हुने गर्छ।

भूकम्पलगत्तै कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशभर राष्ट्रिय संकटकाल घोषणा गरेकी छन्। सरकारले उद्धार तथा राहत कार्यका लागि सुरक्षाकर्मी, सेना र आपत्कालीन उद्धार टोलीलाई प्रभावित क्षेत्रमा परिचालन गरेको छ। कराकासको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा समेत गम्भीर क्षति पुगेको जनाइएको छ। विमानस्थलको छतको एक भाग भत्किएपछि उडान सेवा अनिश्चितकालका लागि स्थगित गरिएको छ। देशभरका विद्यालय एक साताका लागि बन्द गरिएका छन् भने रेल सेवा र गैरआवश्यक सार्वजनिक गतिविधि रोकिएका छन्।
भग्नावशेषमा जीवित मानिसको खोजी
उद्धारकर्मीहरू भत्किएका भवनका भग्नावशेषमा पुरिएका नागरिकको खोजी तथा उद्धारमा जुटिरहेका छन्। धेरै स्थानमा विद्युत् र दूरसञ्चार सेवा अवरुद्ध हुँदा राहत तथा उद्धार कार्यमा कठिनाइ उत्पन्न भएको अधिकारीहरूले बताएका छन्। सरकारले सम्भावित आगलागी रोक्न जोखिमयुक्त क्षेत्रमा ग्यास आपूर्ति बन्द गरेको छ। थप संरचना भत्किन सक्ने जोखिमलाई मध्यनजर गर्दै सुरक्षाकर्मीहरूलाई उच्च सतर्कतामा राखिएको छ।
छिमेकी मुलुकसम्म महसुस
भूकम्पको धक्का छिमेकी कोलम्बियाको राजधानी बोगोटासहित ब्राजिलका केही क्षेत्रमा समेत महसुस गरिएको थियो। प्रारम्भमा पुएर्टो रिको र भर्जिन टापुका लागि सुनामी चेतावनी जारी गरिए पनि पछि अमेरिकी सुनामी चेतावनी केन्द्रले ठूलो सुनामीको जोखिम नरहेको स्पष्ट पारेको छ।
अन्तर्राष्ट्रिय समुदायको चासो
विपत्तिपछि मेक्सिको, ब्राजिल, बोलिभिया, एल साल्भाडोरलगायत ल्याटिन अमेरिकी राष्ट्रहरूले भेनेजुएलाप्रति ऐक्यबद्धता र समवेदना व्यक्त गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै आवश्यक मानवीय सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको बताएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेनेजुएलामा गएको विनाशकारी भूकम्पप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्वीटर एक्समा लेख्दै मोदीले यस कठिन घडीमा भारत भेनेजुएलाका जनताको साथमा रहेको बताए । उनले आवश्यकता परेमा सम्भव भएसम्मको सबै सहयोग उपलब्ध गराउन भारत तयार रहेको समेत बताए । ‘भारतका जनताको तर्फबाट म भेनेजुएला सरकार र जनताप्रति विशेष गरी आफ्ना प्रियजनहरू गुमाएका परिवारहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दछु । हामी घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्दछौँ र यस कठिन समयमा प्रभावित सबैसँग ऐक्यबद्धता व्यक्त गर्दछौँ ।’ उनले भनेका छन्, ‘भारत सबै सम्भव सहयोग प्रदान गर्न तयार छ ।’ विशेषज्ञहरूका अनुसार यो भूकम्प पछिल्ला एक शताब्दीभन्दा बढी अवधिमा भेनेजुएलाले भोगेको सबैभन्दा विनाशकारी प्राकृतिक विपत्ति हुन सक्ने सम्भावना रहेको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेकाले क्षतिको वास्तविक विवरण आगामी दिनहरूमा मात्र स्पष्ट हुने अपेक्षा गरिएको छ।