search logo
NOTIFICATIONS

अमेरिकामा नेपाली पहिचानको नयाँ अध्याय: ‘करी एण्ड ग्रिल २’ अब ‘शेर्पा बेसक्याम्प हिमालयन रेस्टुरेन्ट’

हाम्रो पेज

११ असार २०८३, बिहीबार १३:२५
डेनभर (अमेरिका), ११ असार I नेपाली तथा हिमाली खानाको पहिचान पस्कने उद्देश्यले अमेरिकाको कोलोराडो राज्यस्थित डेनभर शहरमा सञ्चालित रेस्टुरेन्ट करी एण्ड ग्रिल २ अब शेर्पा बेसक्याम्प हिमालयन रेस्टुरेन्ट नामबाट सञ्चालनमा आउने भएको छ।

विराटनगरका युवा सुमन केसीले सन् २०२५ को जुलाईमा रेस्टुरेन्टको व्यवस्थापन सम्हालेपछि यसलाई स्तरीय भोजन गन्तव्यका रूपमा विकास गर्ने अभियान थालेका थिए । रेस्टुरेन्टमा भारतीय तथा नेपाली परिकारलाई विशेष प्राथमिकता दिइँदै आएको छ। केसीले रेस्टुरेन्टको सजावटमा व्यापक सुधार गरेका छन्।

रेस्टुरेन्टको विशेष आकर्षणका रूपमा “टप अफ द हिमालयाज” नामक मेनु समावेश गरिएको छ, जसमा नेपाली मौलिक स्वादका विभिन्न परिकार राखिएका छन्। भारतीय खानाका चर्चित परिकार टिक्का मसाला र साग पनीरको छायाँमा ओझेलमा पर्ने नेपाली परिकारलाई अगाडि ल्याउने उद्देश्यले यो पहल गरिएको हो।

केसी र उनका सहकर्मी प्रकाश सिटौलाले यसै महिनादेखि रेस्टुरेन्टलाई नयाँ नामबाट पुनः सञ्चालनमा ल्याउने निर्णय गरेका हुन्। उनीहरूका अनुसार नाम परिवर्तनले रेस्टुरेन्टको नयाँ पहिचान र नेपाली सांस्कृतिक विरासतलाई अझ स्पष्ट रूपमा प्रस्तुत गर्नेछ।

“मेरो मुख्य उद्देश्य अमेरिकाको डेनभरवासीलाई स्तरीय नेपाली र भारतीय खानाको अनुभव दिलाउनु हो,” केसीले भने। “मैले व्यवस्थापन सम्हाल्दा यो सामान्य भारतीय रेस्टुरेन्ट थियो। अहिले यसलाई नेपाली स्वाद र संस्कृतिसँग अझ नजिक बनाइएको छ।”

रेस्टुरेन्टमा नेपाली परिकारमध्ये विशेष रूपमा मःम र चिकेन छोइला लोकप्रिय बन्दै गएको केसीले बताए । यसका साथै नेपाली परम्परागत थाली सेट पनि मेनुको प्रमुख आकर्षण हो। थालीमा भात, दाल, तरकारी, सागसब्जी, अचार, र एक ननभेज परिकारका साथै फापरको चिप्स लगायतका विभिन्न परिकार समावेश हुन्छ।

मदिराजन्य पेय पदार्थतर्फ पनि रेस्टुरेन्टले उल्लेखनीय विस्तार गरेको छ। जसमा स्थानीय तथा राष्ट्रिय ब्रान्डका मदिराका साथै नेपालमा लोकप्रिय रहेका नेपाली उत्पादनको मदिरासमेत ग्राहकलाई उपलब्ध गराइने केसीले जानकारी दिए ।

अमेरिकाको डेनभरमा नेपाली समुदायको विस्तारसँगै नेपाली खानाप्रतिको आकर्षण पनि बढ्दै गएको छ। यस्तो अवस्थामा ‘शेर्पा बेसक्याम्प हिमालयन रेस्टुरेन्ट’ले नेपाली स्वाद, संस्कृति र आतिथ्यलाई अमेरिकी उपभोक्तामाझ अझ प्रभावकारी रूपमा पुर्‍याउने अपेक्षा गरिएको छ।

विराटनगर ४, राजवंशी चोक निवासी केसी सन् २०१६ मा अमेरिका गएका थिए I नेपालमै रहँदा उनले सन् २०१० मा विराटनगरमा ब्लु मुन इन रेस्टुरेन्ट स्थापना गरेका थिए I परिवारसहित अमेरिका बस्दै आएका केसी सामाजिक क्रियाकलापमा समेत उत्तिकै सक्रिय छन् I

श्रीमतीका साथमा सुमन केसी