search logo
NOTIFICATIONS

विराटनगरको होटलमा भारतीय मृत फेला, खान कोचिङमा तोडफोडका अभियुक्त

हाम्रो पेज

३१ जेष्ठ २०८३, आईतवार १६:१५
पटना गोलीकाण्डका अभियुक्त विराटनगरको होटलमा मृत फेला

विराटनगर ३१ जेष्ठ । भारतको बिहार राज्यमा चर्चित ‘पटना गोलीकाण्ड’ तथा ‘खान ग्लोबल स्टडीज’ मा भएको आक्रमण र तोडफोड घटनाका आरोपी प्रिन्स कुमार यादव विराटनगरस्थित एक होटलमा मृत फेला परेका छन्। घटनाले नेपाल र भारत दुवै देशका सुरक्षा निकायको ध्यान आकर्षित गरेको छ। मोरङ प्रहरीले दिएको जानकारी अनुसार विराटनगर–१० स्थित होटलको एक कोठामा बिहीबार २४ वर्षीय भारतीय नागरिक प्रिन्स कुमार यादव मृत अवस्थामा भेटिएका हुन्। होटलमा दर्ता हुँदा उनले उपचारका लागि नेपाल आएको विवरण उल्लेख गरेका थिए। उनी केही दिनदेखि सोही होटलमा बस्दै आएका थिए।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मृतकसँग अन्य चार भारतीय नागरिक पनि होटलमा बसेका थिए। घटनापछि उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ तथा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।प्रहरी अनुसन्धानका क्रममा मृतक यादव भारतको बिहारमा चर्चित ‘खान सर काण्ड’ का प्रमुख आरोपी रहेको खुलेको छ। गत जुन २ मा पटना स्थित ‘ज्ञान बिन्दु एकेडेमी’ र ‘खान ग्लोबल स्टडीज’ बीचको विवाद उग्र बन्दै जाँदा तोडफोड, झडप तथा गोली चल्ने घटना भएको थियो। उक्त घटनामा यादवले नेतृत्वदायी भूमिका खेलेको आरोपमा भारतीय प्रहरीले उनीविरुद्ध मुद्दा दर्ता गरी खोजी गरिरहेको थियो।

मोरङ प्रहरी प्रमुख एसपी कोवित कटुवालका अनुसार भारतमा मुद्दा दर्ता भएपछि यादव नेपाल प्रवेश गरी विराटनगरको बसपार्क आसपास क्षेत्रमा लुक्दै बसिरहेका थिए। होटलभित्र उनको शव फेला परेपछि घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले बहुआयामिक अनुसन्धान थालेको छ। प्रिन्स यादव बिहारका चर्चित शिक्षा व्यवसायी तथा ‘ज्ञान बिन्दु एकेडेमी’ का सञ्चालक रोशन आनन्दका भाइ हुन्। उनी संस्थाको प्रशासनिक तथा दैनिक व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए।

यस घटनाको पृष्ठभूमि बिहारका दुई प्रतिष्ठित कोचिङ संस्थानबीच चुलिएको व्यावसायिक प्रतिस्पर्धासँग जोडिएको छ। चर्चित शिक्षक ‘खान सर’ को संस्थामा भएको आक्रमणपछि ज्ञान बिन्दु एकेडेमीका सञ्चालकहरूविरुद्ध गम्भीर मुद्दा दर्ता गरिएको थियो। सोही प्रकरणमा रोशन आनन्द पक्राउ परिसकेका छन् भने फरार रहेका प्रिन्स यादव नेपाल पुगेका थिए।

प्रहरीले शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइसकेको छ। प्रारम्भिक अनुसन्धानबाट मृत्युको कारण खुल्न नसकेकाले घटनालाई रहस्यमय मानिएको छ। पोस्टमार्टम रिपोर्ट, होटलको सीसीटीभी फुटेज, डिजिटल प्रमाण तथा नियन्त्रणमा रहेका व्यक्तिहरूको बयानका आधारमा मात्र मृत्यु आत्महत्या, प्राकृतिक कारण वा योजनाबद्ध हत्या हो भन्ने विषयमा निष्कर्ष निकाल्न सकिने प्रहरीको भनाइ छ।

मृतकका परिवारजनलाई घटनाबारे जानकारी गराइसकिएको छ भने कानुनी प्रक्रिया पूरा भएपछि शव जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। यता, नेपाल र भारतका सुरक्षा निकायबीच समेत घटनासम्बन्धी सूचनाको आदानप्रदान भइरहेको बताइएको छ। पटना गोलीकाण्डका एक प्रमुख अभियुक्तको विदेशी भूमिमा भएको रहस्यमय मृत्युले उक्त बहुचर्चित कोचिङ विवादलाई नयाँ मोड दिएको छ। घटनाको वास्तविकता सार्वजनिक हुन पोस्टमार्टम रिपोर्ट र प्रहरी अनुसन्धानको निष्कर्षलाई महत्वपूर्ण मानिएको छ।