हाम्रो पेज

मेक्सिकोको विजयी उद्घाटन
मेक्सिको सिटीस्थित एस्तादियो एज्टेका रंगशालामा सम्पन्न उद्घाटन खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार सुरुआत गरेको हो। हजारौं समर्थकको उत्साहजनक उपस्थितिबीच मेक्सिकोका जुलियन क्विनोनेस र राउल जिमेनेजले एक–एक गोल गर्दै टोलीलाई महत्त्वपूर्ण तीन अंक दिलाए। खेल सुरु भएको नवौं मिनेटमै इरिक लिराको पासमा क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाएका थिए। सुरुआतदेखि नै आक्रामक देखिएको मेक्सिकोले लगातार दबाब बनाइरहेको थियो। पाँचौं मिनेटमै इजरायल रेयेसको क्रसमा राउल जिमेनेजले राम्रो अवसर सिर्जना गरे पनि दक्षिण अफ्रिकी गोलरक्षकले उत्कृष्ट बचाउ गरेका थिए। दोस्रो हाफमा दक्षिण अफ्रिकाले ठूलो धक्का बेहोर्नुपर्यो। ४९औँ मिनेटमा सेफेलो सिथोले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित बन्यो। त्यसको फाइदा उठाउँदै मेक्सिकोले खेलमाथि थप नियन्त्रण जमायो। ६७औँ मिनेटमा राउल जिमेनेजले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए। दक्षिण अफ्रिकाको समस्या यतिमै सीमित रहेन। ८४औँ मिनेटमा थेम्बा ज्वानेले पनि रातो कार्ड पाएपछि टोली ९ खेलाडीमा झर्यो। अतिरिक्त समयमा मेक्सिकोका सेजार मोन्टेसले पनि रातो कार्ड पाए तापनि त्यसले खेलको नतिजामा कुनै प्रभाव पार्न सकेन। यससँगै विश्वकपको उद्घाटन खेलमै तीन खेलाडीले रातो कार्ड पाउने दुर्लभ घटना दर्ता भएको छ। मेक्सिकोले विश्वकपका आफ्ना पछिल्ला आठ उद्घाटन खेलमा अपराजित रहने कीर्तिमान पनि कायम राखेको छ, जसमा ६ जित र २ बराबरी समावेश छन्।

दक्षिण कोरियाको दमदार पुनरागमन
समूह ‘ए’ अन्तर्गतकै अर्को खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ। ग्वाडालजारास्थित रंगशालामा सम्पन्न खेलमा दक्षिण कोरियाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि ५९औँ मिनेटमा लादिस्लाभ क्रेज्कीले गोल गर्दै चेक रिपब्लिकलाई अग्रता दिलाएका थिए। त्यसपछि दक्षिण कोरिया दबाबमा परेको देखिए पनि टोलीले हार मानेन। ६७औँ मिनेटमा ह्वाङ इन–बियोमले सुन्दर गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसको दुई मिनेटअघि मात्रै प्रशिक्षकले कप्तान ह्युङ–मिन सनको स्थानमा ओ ह्युङ–क्युलाई मैदान प्रवेश गराएका थिए। मैदान छिरेको ११ मिनेटमै उनले आफ्नो प्रभाव देखाए। ८०औँ मिनेटमा फ्रिकिकबाट आएको बललाई सदुपयोग गर्दै ओ ह्युङ–क्युले निर्णायक गोल गरे र दक्षिण कोरियालाई २–१ को रोमाञ्चक जित दिलाए। चेक रिपब्लिकविरुद्ध विश्वकप इतिहासमा दक्षिण कोरियाको यो पहिलो जित हो। १२औँ पटक विश्वकप खेलिरहेको दक्षिण कोरियाले विश्वकपको उद्घाटन खेलमै जित निकालेको यो चौथो अवसर हो। पहिलो चरणपछि मेक्सिको र दक्षिण कोरिया दुवैले तीन–तीन अंक जोड्दा गोलअन्तरका आधारमा मेक्सिको शीर्ष स्थानमा रहेको छ। चेक रिपब्लिक र दक्षिण अफ्रिका अंकविहीन छन्।

उद्घाटन समारोहमा साकिराको धमाका
खेल सुरु हुनुअघि विश्वकप २०२६ को औपचारिक उद्घाटन समारोहले विश्वभरका फुटबल समर्थकलाई मन्त्रमुग्ध बनायो। मेक्सिकोको सांस्कृतिक विविधता, ऐतिहासिक सम्पदा र कलात्मक पहिचान झल्काउने नृत्य तथा नाट्य प्रस्तुतिहरूले समारोहलाई विशेष बनाएका थिए। मेक्सिकोको चर्चित पप ब्यान्ड ‘माना’ले आफ्नो प्रस्तुति मार्फत दर्शकहरूलाई उत्साहित बनाएको थियो। त्यसपछि कोलम्बियाली सुपरस्टार जे बाल्भिनले लोकप्रिय गीतहरू प्रस्तुत गर्दै रंगशालाको माहोल थप रोमाञ्चक बनाए। प्रसिद्ध सांगीतिक समूह ‘लस एन्जल्स अजुल्स’ले पनि आफ्नो प्रस्तुति मार्फत दर्शकहरूको भरपूर मनोरञ्जन गर्यो। तर समारोहको मुख्य आकर्षण बनिन् विश्वप्रसिद्ध गायिका साकिरा। साकिराले नाइजेरियाली कलाकार बुर्ना बोयसँग मिलेर विश्वकप २०२६ को आधिकारिक गीतमध्ये एक मानिएको ‘डाई डाई’ प्रस्तुत गरिन्। उनको ऊर्जावान प्रस्तुति, आकर्षक नृत्य र रंगीन प्रकाश व्यवस्थाले रंगशालालाई उत्सवमय बनाएको थियो। उद्घाटन समारोहको अन्त्य भव्य आतिशबाजीसहित गरिएको थियो। ७० हजारभन्दा बढी दर्शक क्षमता रहेको एस्तादियो एज्टेका रंगशालामा उपस्थित समर्थकहरूले खेल र मनोरञ्जनको अनुपम संगम अनुभव गरे।
विश्वकपको नयाँ युग
विश्वकप २०२६ केवल अर्को विश्वकप मात्र होइन, फुटबल इतिहासको नयाँ अध्याय पनि हो। पहिलोपटक प्रतियोगितामा ४८ टोली सहभागी भएका छन्। यसअघि ३२ टोलीले प्रतिस्पर्धा गर्ने विश्वकपमा अब थप १६ राष्ट्रले विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा अवसर पाएका छन्। ३९ दिनसम्म चल्ने प्रतियोगितामा कुल १०४ खेल खेलिनेछन्। अमेरिका, मेक्सिको र क्यानडाका १६ शहरमा प्रतियोगिताका खेलहरू आयोजना हुँदैछन्। अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ शहरले विश्वकपको आयोजना गरिरहेका छन्। जुलाई १९ मा न्युयोर्क–न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा हुने फाइनलसँगै नयाँ विश्व च्याम्पियनको टुंगो लाग्नेछ। यस संस्करणमा च्याम्पियन बन्ने टोलीले कुल आठ खेल खेल्नुपर्नेछ।
नेपाल र आयोजक राष्ट्रहरूबीचको समय भिन्नताका कारण अधिकांश खेल नेपाली समयअनुसार मध्यरातदेखि बिहानसम्म सञ्चालन हुनेछन्। खेलहरू राति १२ः४५, १ः००, २ः०० बजेदेखि सुरु भएर बिहान ४ः४५, ५ः४५ र ७ः४५ बजेसम्म चल्नेछन्। नेपालमा प्रतियोगिताका सबै खेल हिमालयन स्पोर्ट्स टेलिभिजन र डिएगो एपमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ। विश्वभरका करोडौं समर्थक अहिले आ–आफ्नो मनपर्ने टोलीको जर्सी लगाएर फुटबल उत्सवमा रमाइरहेका छन्। अनुमान अनुसार यसपटक विश्वको कुल जनसंख्याको करिब ५८ प्रतिशतले विश्वकप अवलोकन गर्नेछन्। उद्घाटन दिनमै रोमाञ्चक खेल, रातो कार्डको वर्षा, दक्षिण कोरियाको पुनरागमन, मेक्सिकोको विजयी सुरुआत र साकिराको सांगीतिक जादुले विश्वकप २०२६ को यात्रा अविस्मरणीय बनाएको छ। अब आगामी ३९ दिन विश्व फुटबलका समर्थकका लागि उत्साह, रोमाञ्चकता र भावनाको अनुपम पर्व बन्ने निश्चित छ। विश्वकपमा आजै राति क्यानडा र बोस्नया तथा भोलि विहान अमेरिका र पाराग्वे भिड्नेछन् ।