हाम्रो पेज

काठमाडौं,१९ जेष्ठ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र भारतीय जनता पार्टी भाजपाका नेता नितिन नवीनबिच भारतको राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भारत भ्रमणमा रहनुभएका सभापति लामिछानेले नयाँ दिल्लीस्थित भाजपाको केन्द्रीय मुख्यालयमा पुगेर नेता नवीनसँग भेटघाट गर्नुभएको हो । भेटका अवसरमा दुई दलबिचको आपसी सम्बन्ध, नेपाल(भारत द्विपक्षीय चासो र आपसी सहकार्यका विविध पक्षमा छलफल भएको भाजपाले जनाएको छ। भाजपाका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेका अनुसार भेटवार्तामा राष्ट्रिय तहदेखि बुथ तहसम्मको संगठनात्मक संरचना, सदस्यता वितरण प्रक्रिया, उम्मेदवार छनोट प्रणाली तथा तल्लो तहसम्म पार्टीको पहुँच विस्तार लगायतका विषयमा अनुभव आदानप्रदान भएको थियो । त्यसक्रममा भाजपा र रास्वपाबीच पार्टीगत सम्बन्ध र अन्तरपार्टी सहकार्यलाई थप सुदृढ बनाउने विषयमा पनि विचार आदानप्रदान भएको जनाइएको छ । भ्रमणका क्रममा रास्वपाको प्रतिनिधिमण्डलले भाजपा मिडिया सेन्टर र केन्द्रीय पुस्तकालयको समेत अवलोकन गरेको थियो । प्रतिनिधिमण्डललाई पार्टीको सञ्चार प्रणाली, सूचना व्यवस्थापन तथा ज्ञान स्रोतबारे जानकारी गराइएको डा. चौथाइवालेले सामाजिक सञ्जालमार्फत बताउनु भएको छ ।

यस्तै लामिछानेले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्नुभएको छ । मंगलबार नयाँ दिल्लीमा भएको भेटपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भारतीय विदेशमन्त्री जयशंकरले रास्वपा सभापति लामिछाने र उहाँको प्रतिनिधिमण्डलसँग भेट गर्न पाउँदा खुसी लागेको बताउनु भएको छ । उहाँका अनुसार भेटवार्तामा नेपाल–भारतबीचको विकास साझेदारी र जनस्तरको सम्बन्धबारे छलफल भएको छ । जयशंकरले नेपाल र भारतबीचको विकास साझेदारी तथा दुई देशका नागरिकबीचको सम्बन्धले आर्थिक वृद्धि र समृद्धि प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभएको छ । रास्वपा प्रवक्ता मनीष झाका अनुसार जेठ १८ देखि २२ गतेसम्मको भारत भ्रमण क्रममा सभापति लामिछानेसहितको प्रतिनिधिमण्डलले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने छ । भाजपाले पनि नेपालको सत्तारूढ दल रास्वपाका सभापतिसँगको भेटवार्ताले दुई देशका राजनीतिक दलबिच औपचारिक संवाद र भविष्यमा सहकार्यका सम्भावनालाई बल पुर्याउने जनाएको छ । भ्रमणको उद्देश्य रास्वपा र भाजपाबिच पार्टी–पार्टी सम्बन्ध विस्तार गर्नुका साथै सङ्गठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया तथा जनमुखी राजनीतिक पहुँचका विषयमा विचार विमर्श गर्ने रहेको भाजपाले जनाएको छ । सभापति लामिछानेसँगै रास्वपा प्रतिनिधिमण्डलमा महामन्त्री तथा सांसद विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा सांसद दीपक बोहरा, निकिता पौडेल सहभागी रहनुभएको छ । उक्त भ्रमणका क्रममा सभापति लामिछानेले भारतमा रहेका नेपाली समुदायसँग पनि भेटघाट गर्ने जनाइएको छ । नेपाल र भारतका दुई प्रमुख सत्तारूढ राजनीतिक दलबिच सुरु हुन लागेको यो प्रत्यक्ष संवादले भविष्यमा दलगत सम्बन्ध र क्षेत्रीय राजनीतिक सहकार्यमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । भेटघाट, छलफल तथा भ्रमणका लागि नयाँदिल्लीस्थित नेपाली दूतावासले समन्वय गरिरहेको रास्वपाले जनाएको छ ।