search logo
NOTIFICATIONS

आईतवार विद्यालय बन्द गर्ने निर्णयले स्थानीय तहको अधिकार कुण्ठित गर्‍योः मेयर्स फोरम

हाम्रो पेज

१४ जेष्ठ २०८३, बिहीबार १४:५६

काठमाडौं, १४ जेष्ठ । उपत्यका मेयर्स फोरमले केन्द्र सरकारले आईतवार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेर स्थानीय तहको अधिकार कुण्ठित गरेको बताएको छ । फोरमको ललितपुरस्थित महालक्ष्मी नगरपालिकामा बसेको बैठकले सरकारले संविधान विपरित निर्णय गरेको निष्कर्ष निकालेको हो । बैठकले केन्द्र सरकारसंग आईतवार विद्यालय बन्द गर्ने निर्णय फिर्ता लिन माग गरेको छ ।

मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सरकारको निर्णयले स्थानीय तहको संवैधानिक तथा कानूनी अधिकार कुण्ठित भएको बताउनु भयो । सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै उहाँले आवश्यक परे कानुनी प्रक्रियामा जाने चेतावनी समेत दिनुभयो । शिक्षा ऐनअनुसार विद्यालय वर्षमा २ सय २० दिन सञ्चालन हुनुपर्ने व्यवस्था छ । तर सरकारले अप्रत्याशित रूपमा आईतवार बिदा दिने निर्णय गर्दा अध्ययन–अध्यापन प्रभावित हुने अवस्था सिर्जना भएको उहाँले बताउनु भयो । सरकारको निर्णयले विद्यालयहरू १ सय ९० दिन पनि सञ्चालन गर्न कठिन हुने अवस्था देखिएको उहाँको भनाई छ । स्थानीय तहले आफ्नो शैक्षिक क्यालेण्डर बनाइसकेको अवस्थामा केन्द्र सरकारले राजपत्रमै सूचना प्रकाशित गरेर निर्णय गर्नु संविधान र शिक्षा ऐनको मर्मविपरित रहेको उहाँले बताउनु भयो । संविधानको अनुसूची–८ ले आधारभुत शिक्षाको अधिकार स्थानीय तहलाई दिएको उहाँको भनाई छ ।

केन्द्र सरकारको निर्णयले स्थानीय तहको अधिकारमा हस्तक्षेप भएको आरोप लगाउँदै उहाँले यसको समाधान खोज्न काठमाडौं भ्याली मेयर्स फोरमको सचिवालयलाई अध्ययनको जिम्मा दिइएको बताउनु भयो । अध्ययनपश्चात फुल फ्लेज बैठक बसेर थप रणनीति तय गरिने उहाँले जानकारी दिनुभयो । देशका धेरै स्थानीय तहले केन्द्र सरकारको निर्णयका बाबजुद पनि आईतवार विद्यालय सञ्चालन गरिरहेको छन् । उपत्यकाका पालिकाले किन तत्काल निर्णय लिन सकेनन् भन्ने प्रश्नमा महर्जनले कानुनी जटिलता रहेको बताउनु भयो । सरकारको निर्णय राजपत्रमा प्रकाशित भएकाले स्थानीय तहले कानुनी पक्ष अध्ययन नगरी प्रत्यक्ष निर्णय लिन नसक्ने उहाँको भनाई छ ।