मनोहराको सुकुम्बासी बस्ती भत्काइयो

हाम्रो पेज

१३ बैशाख २०८३, आईतवार १२:२८

भक्तपुर, वैशाख १३ गते । मनोहरास्थित सुकुम्बासी बस्तीमा आइतबार सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा डोजर चलाइएको छ । अधिकार क्षेत्र मिचेर बनाइएका संरचना हटाउने भन्दै प्रशासनले सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरी बस्तीमा कारबाही गरेको हो । बस्ती भत्काउनका लागि ठुला डोजर तैनाथ गरिएको छ । केही स्थानीय बासिन्दाहरू आफैँले आफ्ना छाप्रा तथा बाँसका संरचनाहरू भत्काउँदै गरेको नियालिरहेका छन् । आफ्नो बसोबास खोसिएपछि उनीहरू घरायसी सामानहरू बटुलेर ट्रकमा लोड गर्दै सुरक्षित स्थानतर्फ सर्न बाध्य देखिएका छन् । सुरक्षा व्यवस्थालाई कडाइ गरिएको छ र सुरक्षाकर्मीहरू पूर्ण तयारीसहित तैनाथ छन् । डोजरको प्रयोग र सुरक्षा निकायको बाक्लो उपस्थितिका कारण सो क्षेत्रमा तनावको स्थिति सिर्जना भएको छ । शनिबार बस्ती खाली गराउन पुगेको डोजरमाथि त्यहाँका स्थानीयले ढुंगामुढा गरेका थिए । डोजरसहितको टोली गैह्रीगाउँको सुकुमबासी बस्ती खाली गराएपछि साँझ मनोहरास्थित नदी किनारमा पुगेको थियो । मनोहरामा डोजरमाथि एक समूहले ढुंगामुढा गरी प्रहरीसमेतलाई घाइते बताएका थिए । स्थानीयको प्रतिकारपछि डोजरसहितको टोली फर्किए पनि आज सो क्षेत्र खाली गराइएको हो ।