search logo
NOTIFICATIONS

हिरोको विद्युतीय ब्रान्ड ‘भिडा’ नेपालमा, अन्तर्राष्ट्रिय बजार विस्तारको पहिलो गन्तब्य नेपाल

हाम्रो पेज

११ श्रावण २०८३, सोमबार १४:१९

काठमाडौं, ११ साउन । हिरो मोटोकर्प भारतले आफ्नो विद्युतीय दुईपांग्रे ब्रान्ड ‘भिडा’लाई नेपाली बजारमा भित्र्याएको छ। कम्पनीले आफ्नो नेपाल बिक्रेता सीजी मोटर्सको सहकार्यमा विद्युतीय स्कुटर तथा अफ–रोड मोटरसाइकल नेपालमा उपलब्ध गराउने जनाएको हो।

हिरो मोटोकर्पका अनुसार अन्तर्राष्ट्रिय बजार विस्तारको पहिलो गन्तव्यका रूपमा नेपाललाई छनोट गरिएको छ। कम्पनीले आईतबार ललितपुरको एक होटलमा एक कार्यक्रम गर्दै भिडा भीएक्स–२ सिरिजका स्कुटर र भिडा डर्ट–ई के–३ अफ–रोड मोटरसाइकल सार्वजनिक गरेको हो। हिरो मोटोकर्पको इमर्जिङ मोबिलिटी बिजनेस युनिट प्रमुख कौशल्या नन्दकुमारले नेपाल विद्युतीय सवारी साधनको तीव्र विकास भइरहेको सम्भावनायुक्त बजार भएकाले यहाँबाट अन्तर्राष्ट्रिय यात्रा सुरु गरिएको बताउनुभयो I त्यस्तै, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले विद्युतीय यातायाततर्फ नेपालले तीव्र गति लिइरहेको उल्लेख गर्दै भिडाको प्रवेशले नेपाली दुईपांग्रे ईभी बजारमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो ।

भिडाले नेपाली बजारमा भीएक्स–२ स्कुटरलाई ‘प्लस’ र ‘गो’ संस्करणमा उपलब्ध गराएको छ। भीएक्स–२ प्लसमा ४.४ किलोवाट–घण्टा क्षमताका दुईवटा निकाल्न मिल्ने ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार यसले एकपटकको पूर्ण चार्जमा करिब १४० किलोमिटरसम्म यात्रा गर्न सक्छ। स्कुटरको अधिकतम गति प्रतिघण्टा ९० किलोमिटर रहेको छ भने फास्ट चार्जिङ सुविधाबाट करिब ६५ मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

त्यसैगरी, भीएक्स–२ गो संस्करणमा २.२ किलोवाट–घण्टा क्षमताको ब्याट्री प्रयोग गरिएको छ। यसले करिब ७५ किलोमिटरसम्म यात्रा गर्न सक्ने र अधिकतम ७० किलोमिटर प्रतिघण्टा गति प्रदान गर्ने कम्पनीले जनाएको छ। दुवै मोडेलमा घरमै साधारण पाँच एम्पियरको विद्युत् सकेटमार्फत ब्याट्री चार्ज गर्न सकिने सुविधा दिइएको छ। साथै मोबाइल एपमार्फत नेभिगेसन, जियो–फेन्सिङ, कल तथा सन्देश सूचना, रिमोट सञ्चालन तथा सफ्टवेयर अपडेटजस्ता स्मार्ट फिचर पनि समावेश गरिएको छ।

भिडाको डर्ट–ई के–३ विद्युतीय अफ–रोड मोटरसाइकल विशेष गरी किशोर तथा युवा राइडरलाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीले जनाएको छ। यो बाइक प्रयोगकर्ताको उचाइ र उमेरअनुसार तीन फरक आकारमा समायोजन गर्न सकिने विशेषतासहित आएको छ। अभिभावकले मोबाइल एपमार्फत बाइकको गति नियन्त्रण गर्न सक्ने सुविधा समेत उपलब्ध छ। ३५० वाट क्षमताको मोटर र निकाल्न मिल्ने ब्याट्रीयुक्त यो मोटरसाइकलले प्रयोगको अवस्था अनुसार करिब तीन घण्टासम्म सञ्चालन समय दिने कम्पनीको दाबी छ। यसमा तीनवटा फरक स्पिड मोड पनि समावेश गरिएको छ।

विद्युतीय बजारमा हिरोको नयाँ कदम

सन् २०१४ देखि नेपाली बजारमा पेट्रोलबाट चल्ने मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको हिरो मोटोकर्पले अब भिडा ब्रान्डमार्फत विद्युतीय सवारी क्षेत्रमा पनि आफ्नो उपस्थिति विस्तार गरेको जनाएको छ। कम्पनीका अनुसार स्कुटर र मोटरसाइकलको रेन्ज, गति तथा चार्जिङ समय आन्तरिक परीक्षणका आधारमा निर्धारण गरिएको हो। सडक अवस्था, मौसम तथा प्रयोगको तरिकाअनुसार वास्तविक प्रदर्शनमा केही भिन्नता आउन सक्ने कम्पनीले उल्लेख गरेको छ। कम्पनीले भिडा भीएक्स–२ सिरिजका स्कुटरको मूल्य क्रमश: दुईलाख उनान्सय हजार नौसय र तीनलाख उनान्सय हजार नौसय तथा भिडा डर्ट–ई के–३ अफ–रोड मोटरसाइकलको मुल्य एकलाख उनान्सय हजार नौसय कायम गरेको जनाएको छ I