
विराटनगर, ११ वैशाख। विराटनगर महानगरपालिकाले बजार व्यवस्थापनलाई कडाइका साथ लागु गर्दै शुक्रबारदेखि फुटपाथ अतिक्रमण नियन्त्रण अभियान सुरु गरेको छ । सहरलाई व्यवस्थित, सफा र ट्राफिकमैत्री बनाउने उद्देश्यसहित महानगरले विभिन्न सुधारात्मक कदम अघि बढाएको हो । यस दिन बिहान ८ बजेदेखि तीनपैनी क्षेत्रबाट फुटपाथ अतिक्रमण हटाउन थालिएको विराटनगरका नगर प्रहरी प्रमुख राजन पौडेलले जानकारी दिनुभयो । मुख्य बजार क्षेत्र र वरपर सटरबाहिर सामान राख्ने, फुटपाथ अतिक्रमण गर्ने, निर्माण सामग्री थुपार्ने, ग्यारेजका उपकरण सडकमा राख्ने कार्य तथा मापदण्डविपरीत सञ्चालित कवाडी व्यवसाय पूर्ण रूपमा निषेध गरिएको महानगरले जनाएको छ । दुई दिनअघि नै माइकिङमार्फत सूचित गरिएकाले अब नियम उल्लंघन गर्नेमाथि तत्काल कारबाही गरिने चेतावनी दिइएको छ । यो अभियानअन्तर्गत सिंघिया र केशलिया खोलामा भइरहेको अवैध उत्खनन नियन्त्रणलाई पनि प्राथमिकतामा राखिएको छ । वातावरणीय सन्तुलन बिगार्ने र बाढीको जोखिम बढाउने यस्ता गतिविधि रोक्न जिल्ला प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । यस्तै, बढ्दो ट्राफिक जाम र अव्यवस्थित पार्किङ समस्या समाधानका निम्ति महानगरले उच्चस्तरीय समिति गठन गरेको छ । समितिलाई १५ दिनभित्र ठेला व्यवस्थापन, पार्किङ क्षेत्र निर्धारण तथा बजार अनुशासनसम्बन्धी प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको महानगरले जनाएको छ ।