सिटिजन्स बैंक इन्टरनेशनलको १९औं वार्षिकोत्सवःसामाजिक उत्तरदायित्व र जनचेतनामूलक कार्यक्रमहरू सम्पन्न

हाम्रो पेज

८ बैशाख २०८३, मंगलवार ११:३०

विराटनगर, ८ वैशाख । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा कोशी प्रदेश अन्तर्गत महेन्द्रचोक शाखामार्फत विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रमहरू भव्य रूपमा सम्पन्न गरेको छ। यस अवसरमा मानवसेवा आश्रम, विराटनगर शाखालाई खाद्यान्न सहयोग प्रदान गरिएको थियो। बैंकले सामाजिक उत्तरदायित्वप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै विगतदेखि नै यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको र आगामी दिनहरूमा समेत निरन्तरता दिने जनाएको छ। कार्यक्रममा कोशी प्रदेश प्रमुख प्रकाश नेपाल, शाखा प्रमुख, कर्मचारीहरू तथा मानवसेवा आश्रमका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। आश्रमले बैंकप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै भविष्यमा समेत सहकार्य जारी रहने विश्वास व्यक्त गरेको छ ।

त्यसैगरी, कोशी प्रदेश कार्यालयको आयोजनामा विराटनगरमा वित्तीय साक्षरता र्‍याली सम्पन्न गरिएको थियो । १०० भन्दा बढी कर्मचारीहरूको सक्रिय सहभागितामा सम्पन्न उक्त र्‍यालीमार्फत सर्वसाधारणमा बचत, कर्जा, डिजिटल बैंकिङ तथा वित्तीय अनुशासनसम्बन्धी जनचेतना अभिवृद्धि गरिएको थियो। यसै क्रममा, “रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ महेन्द्रचोक शाखाद्वारा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा कर्मचारीहरूका साथै ग्राहकहरूको उत्साहजनक सहभागिता देखिएको थियो ।

यी सम्पूर्ण कार्यक्रमहरूले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वलाई अझ सुदृढ बनाएको विश्वास लिइएको छ। महेन्द्रचोक शाखाले कार्यक्रममा सहभागी सम्पूर्ण कर्मचारीहरू तथा सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गर्दै भविष्यमा पनि यस्ता सामाजिक, स्वास्थ्य तथा जनचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।