मोरङ,सुनसरी र झापामा बर्डफ्लू संक्रमण फैलियो,६० हजारभन्दा बढी कुखुरा नष्ट

हाम्रो पेज

१० चैत्र २०८२, मंगलवार १९:३९

विराटनगर,१० चैत । मोरङ सुनसरी र झापामा बर्डफ्लू संक्रमण फैलि भएको छ । मङ्गलबारसम्ममा यी तीन जिल्लाका विभिन्न १२ कुखुरा फार्ममा बर्डफ्लु संक्रमित ६० हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ । प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयकी बर्डफ्लु संक्रमण फोकल पर्सन डा दीपा दिवालीका अनुसार मोरङको विराटनगर, सुन्दरहरैंचा, उर्लाबारी र कटहरी, सुनसरीको इटहरी र गढी तथा झापाको दमकसहित आसपासको क्षेत्रमा बर्डफ्लु संक्रमण फैलिएको छ । त्यस क्षेत्रमा हालसम्म ६० हजारभन्दा बढी कुखुरा र ५० हजारभन्दा बढी अण्डा नष्ट गरिएको छ । विराटनगर–४ जोला टोलस्थित दाहाल कृषि फार्ममा बर्डफ्लुको संक्रमण फैलिएपछि विराटनगर महानगरपालिकाको प्राविधिक टोलीले फार्म रहेका कुखुरा नष्ट गरी यसरी व्यवस्थापन गरेको छ । फार्म रहेका ६ हजार कुखुरामध्ये ३ हजार कुखुरा दुई दिनको अवधिमा मरेको सञ्चालकले बताएका छन् । बाँकी ३ हजारलाई पनि प्राविधि टोलीले नष्ट गरेको छ ।
मोरङ जिल्लाभित्र कुखुरामा लाग्ने घातक बर्डफ्लू संक्रमण तीव्र गतिमा फैलिरहेको छ । केही दिनयता एकपछि अर्को स्थानमा संक्रमण देखिएको छ । विराटनगरमा पनि संक्रमण पुष्टि भएको छ । हालसमम जिल्लाका पाँचवटा पोल्ट्री फार्म प्रभावित भएका छन् । फैलदो क्रममा रहेको बर्डफ्लू नियन्त्रणका लागि सरकारी निकाय सक्रिय भएका छन् । कुखुरा पालक किसानहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका प्रमुख अजयकुमार साहका अनुसार आइतबार विराटनगर महानगरपालिका–४ स्थित दाहाल कृषि फार्ममा बर्डफ्लू संक्रमण पुष्टि भएको हो । योसँगै मोरङमा पुष्टि भएका संक्रमित फर्मको संख्या पाँच पुगेको छ । यसअघि सुन्दरहरैँचा नगरपालिका–४ को हलेसी महादेव कृषि फार्म, उर्लाबारी नगरपालिका–८ को अठियावारी कृषि फार्म, कटहरी गाउँपालिका–२ मा रहेको ई टु जेड पोल्ट्री फार्म र कटहरी– ६ को कामख्या पोल्ट्री फार्ममा संक्रमण देखिइसकेको साहले बताउनुभयो । संक्रमण पुष्टि भएसँगै प्रभावित क्षेत्रहरूमा व्यापक नियन्त्रण अभियान सञ्चालन गरिएको छ । प्रमुख साहका अनुसार संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रका सबै कुखुरा तथा अन्य पन्छीजन्य वस्तुहरू नष्ट गर्ने काम भइरहेको छ । सरकारी टोलीले प्रभावित क्षेत्रमा मरेका पन्छी र तिनका मलमूत्रलाई सुरक्षित तरिकाले व्यवस्थापन गर्न विशेष सावधानी अपनाइरहेको छ । ती वस्तुहरूलाई खाल्डो खनेर गाड्ने र त्यसपछि औषधीय घोल प्रयोग गरेर निसंक्रमण गर्ने काम भइरहेको छ । यसरी गरिएको डिसइन्फेक्सनले संक्रमण अन्य क्षेत्रमा फैलिनबाट रोक्न सहयोग पुग्ने विश्वास गरिएको छ । यसअघि सुन्दरहरैंचा, उर्लाबारी र कटहरीका विभिन्न फार्ममा रोग देखिइसकेको थियो। संक्रमण फैलावट नियन्त्रण गर्न सम्बन्धित निकायले प्रभावित क्षेत्रहरूमा कडा कदम चालिरहेका छन्। संक्रमित फार्मका कुखुरा अण्डा, दाना र प्रयोगमा आएका सामग्रीसमेत नष्ट गरिने मन्त्रालयको भनाइ छ।