हाम्रो पेज
काठमाडौं,१ पुष । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । आज मध्यान्न १२ बजेदेखि मतदान गर्ने तय भएपनि दिउँसो करिब ३ बजेबाट मतदान गर्ने तयारी गरिएको एमाले निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाले जानकारी दिनुभएको छ । एमाले महाधिवेशनमा रामलक्ष्मण भोटिङ मेसिनबाट मतदान हुँदै छ । उम्मेदवारको अन्तिम नामावली विद्युतीय मतदानका लागि राति नै बुझाएका छौँ । प्राविधिकहरूले १५ घण्टा लाग्छ भन्नुभएको थियो । सम्भवतः दिउँसो ३ बजेबाट मतदान सुरु हुन्छ,” उहाँ भन्नुभएकोछ । भोटिङ मेसिनका निर्माणकर्ता रामप्रसाद रिमालका अनुसार हाल उमेदवारहरूको सूची मेसिनमा इन्ट्री गर्ने काम ४० प्रतिशत सकिएको छ । ४० प्रतिशतजति उमेदवारको लिस्ट इन्ट्री भएको छ । रातभरि काम गरिरकेका छौँ । सम्भवतः ३ बजेबाट भोटिङ सुरु होला,” उनी भन्छन् । महाधिवेशनमा १९ पदाधिकारीका लागि ४२ उमेदवार छन् । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलको प्यानलगत प्रतिस्पर्धा हुँदै छ । सबै पदमा गरी ३०० बढी उमेदवार छन् । रिमालका अनुसार, भोटिङ गर्न एकजना महाधिवेशन प्रतिनिधिलाई करिब ३० मिनेट लाग्नेछ । ३०० भन्दा बढी उमेदवार छन् । एकजना मतदाताले भोट हाल्न करिब आधा घण्टा लाग्छ ।
नयाँ नेतृत्वमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह नै बनाएर चुनावी मैदानमा छन् । सोमबार राति एक बजे एमाले निर्वाचन आयोगले उम्मेदवारको फाइनल लिस्ट दिएको थियो । निर्वाचन गराउने जिम्मा पाएको रामलक्ष्मण इनोभेसन अन्तर्गतको ब्यालेट सोलुसनले अहिले उम्मेदवारको फोटो कोडिङ गरिरहेको छ । रिमालले ८० ओटा विद्युतीय मेसिनबाट भोट खसाल्ने व्यवस्था मिलाएको जानकारी दिनुभयो । यस्तै निर्वाचनको परिणाम भोलि मात्रै आउने भएको छ । निर्धारित समयमा मतदान नहुने भएपछि नतिजा केही ढिला गरी आउने भएको हो । मंगलबार बिहान ११ बजेदेखि मतदान हुने भनिएपनि प्राविधिक तयारीका कारण मतदान कार्य सुरु गर्न निकै समय लाग्ने भएको हो । यसअघि निर्वाचन कार्यक्रम संशोधन गर्दै मतदानको समय बिहान ११ बजेदेखि साँझ ६ बजेसम्मका लागि तय गरिएको थियो । एमालेले आफ्नो महाधिवेशनमा रामलक्ष्मण इनोभेसन प्रालिले बनाएको विद्युतीय भोटिङ मेसिन् प्रयोग गर्दै आइरहेको छ । एमालेको महाधिवेशनमा २ हजार २६३ महाधिवेशन प्रतिनिधि छन् ।