
एजेन्सी,१७ फाल्गुन । अमेरिका इजरायलको आक्रमणमा आफ्ना सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएपछि इरानले ४० दिनको राजकीय शोक र ७ दिनको सार्वजनिक बिदा घोषणा गरेको छ। इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स आईआरजीसीले खामेनीको मृत्युमा शोक व्यक्त गरेको छ। इरानी समाचार एजेन्सी फार्सका अनुसार, आईआरजीसीले भनेको छ, ‘हामीले एक महान् नेता गुमाएका छौँ र सिंगो देश शोकमा छ।’ इरानका सञ्चारमाध्यम तस्निम र फार्सका अनुसार खामेनी मात्र होइन, आक्रमणमा उनका छोरी, ज्वाइँ, नातिनी र बुहारी पनि मारिएका छन्। यसैबिच इरानी सेनाले अब ‘इतिहासकै खतरनाक हमला’ सुरु गरिने चेतावनी दिएको छ। उसले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘इस्लामिक गणतन्त्र इरानको सशस्त्र सेनाले अब चाँडै कब्जा गरिएका क्षेत्र र अमेरिकी आतंकवादी अड्डाहरूविरुद्ध इतिहासकै सबैभन्दा खतरनाक आक्रमण सुरु गर्नेछ।’ सन् १९८१ देखि ७ वर्ष ३११ दिनसम्म इरानको राष्ट्रपति रहेका खामेनी सन् १९८९ मा सर्वोच्च नेता चुनिएका थिए। वासिङ्टनस्थित इरानी मानव अधिकार समूह ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सीले अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा कम्तीमा १३३ जना मारिएको बताएको छ। हमलामा २०० जना घाइते पनि भएको एजेन्सीले उल्लेख गरेको छ। यो जानकारी प्रारम्भिक रिपोर्टमा आधारित रहेको उल्लेख गर्दै एक्टिभिस्ट्स न्युज एजेन्सीले इरानका १८ प्रान्तमा कम्तीमा ५८ वटा आक्रमण भएको जानकारी दिएको छ। जसमध्ये सबैभन्दा धेरै हमला राजधानी तेहरानमा भएको छ। केही घण्टादेखि तेहरानमा निरन्तर विस्फोटका आवाज सुनिएको बताइएको छ। यसैबिच इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले अमेरिकी अड्डा र इजरायलविरुद्ध ‘इतिहासकै खतरानक आक्रमण’ गर्ने चेतावनी दिएको छ।
