search logo
NOTIFICATIONS

यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णयहरु, माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान

हाम्रो पेज

२८ पुष २०८२, सोमबार १८:००

काठमाडौं, २८ पुष । सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आजै बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ४ गते अधिवेशन आह्वान गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो । त्यस्तै, सरकारले वित्तिय क्षेत्रविकास रणनीति २०८२–०८३ देखि २०८६–०८७ स्वीकृत गर्ने निर्णय पनि गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार, गोरखापत्र संस्थानको अध्यक्षमा गोविन्द प्रसाद भण्डारीलाई नियुक्त गर्ने निर्णय पनि भएको छ ।
यस्ता छन् निर्णयहरूः
– अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकासकेन्द्र ९ईसीमोड० को सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदान अमेरिकी डलर रकम २ लाख ८३ हजार ५०३ अमेरिकी डलर प्रदान गर्न स्वीकृति दिने ।
– वित्तिय क्षेत्रविकास रणनीति २०८२–०८३ देखि २०८६–०८७ स्वीकृत गर्ने ।
– २०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनीफैया बौद्ध पगैडाको अभिलेखालय र गंगाघाट मन्दिरको पुनर्निमाणका लागि अमेरिकी डलर ३ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने ।
– मानव बेचविखनविरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने ।
– गोरखापत्र संस्थानको अध्यक्ष पदमा श्री गोविन्द प्रसाद भण्डारी, भक्तपुरलाई नियुक्त गर्ने ।
– संवत् २०८२ साल माघ ४ गते बिहान ११ बजे संघीय संसद् सचिवालय सिंहदरबारमा संघीय संसद्को राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ। सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ । यस अनुसार सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।जेनजी आन्दोलनपछि राष्ट्रिय सभाको बैठक बस्न लागेको हो । २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । आन्दोलनपछि अन्तरिम सरकार बन्यो र प्रतिनिधिसभा विघटन गर्‍यो । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपतिले गत भदौ ३१ गते राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेका थिए । सरकारले राष्ट्रिय सभाको बैठक सिंहदरवारमै राख्ने तयारी गरेको छ । जेनजी आन्दोलनका क्रममा नयाँ वानेश्वरस्थित संसद भवन समेत जलेको छ । वैकल्पिक रुपमा सिंहदरबारमै रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई राष्ट्रिय सभाको बैठक बस्ने गरी व्यवस्थापन गरिएको छ ।