कोशीमा १० मन्त्री फेरिए, कांग्रेस र एमालेबाट कसलाई कुन मन्त्रालय

हाम्रो पेज

२२ पुष २०८२, मंगलवार १८:१४

विराटनगर,२१ पुष । कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले आज मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । सबै मन्त्रीहरूलाई जिम्मेवारीबाट हटाएर नयाँ मन्त्री नियुक्त गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस र नेकपा एमालेबाट नयाँ अनुहारलाई सरकारमा सहभागी गराउनु भएको छ । मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका ८ जना मन्त्री र २ जना राज्यमन्त्रीले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराउनु भएको छ । नयाँ मन्त्रीमण्डलमा सत्ता साझेदार दल कांग्रेस र एमालेबीच भागबण्डा मिलाइएको छ । सरकारमा दुवै दलबाट समान ४–४ जना मन्त्री र १–१ जना राज्यमन्त्री सहभागी छन् । सरकारमा प्रदीपकुमार सुनुवारले भौतिक पूर्वाधार विकास मन्त्रालय, भीम पराजुलीले पर्यटन, वन तथा वातावरण मन्त्रालय, तिलचन पाठकले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । यस्तै विदुरकुमार लिङ्थेपले आर्थिक मामिला तथा योजना मन्त्रालय, रामप्रसाद महतोले सामाजिक विकास मन्त्रालय, मानबहादुर लिम्बूले स्वास्थ्य मन्त्रालय, इसाइल मन्सुरीले उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास राज्यमन्त्री र उमाकान्त गौतम विनाविभागीय राज्यमन्त्री नियुक्त हुनु भएको छ । कोशीमा गठबन्धनमा रहेका कांग्रेस र एमालेले आफ्ना मन्त्रीहरूलाई फिर्ता गर्दै नयाँ अनुहार पठाउने समझदारी गरेका थिए । यसअघि सरकारमा एमालेबाट आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री राम राना, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री एकराज कार्की, सामाजिक विकासमन्त्री पाँचकर्ण राई, राज्यमन्त्री सिर्जना राई हुनुहुन्थ्यो। कांग्रेसबाट भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भुपेन्द्र राई, पर्यटन वन तथा वातावरणमन्त्री सदानन्द मण्डल, उद्योग कृषि तथा सहकारीमन्त्री खगेनसिं हांगाम रहनु भएको थियो ।