हाम्रो पेज
विराटनगर,६ पुष । नेपाली नागरिकलाई क्यासिनोभित्र छिराएर जुवा खेलाउने विराटनगरका दुई क्यासिनोमा मोरङ प्रहरीले मध्यरातमा छापा मारेको छ । आइतबार मध्यरातमा ‘मिडनाइट अपरेशन’का क्रममा दुई क्यासिनोका उच्च पदस्थ कर्मचारीसहित २० जना नेपालीलाई प्रहरीले रंगेहात नियन्त्रणमा लिएको मोरङ प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक एसपी कवित कटुवालको प्रत्यक्ष कमाण्डमा खटिएको टोलीले विराटनगरस्थित ‘बिग होटल’ भित्र सञ्चालित च्याम्पियन जोन क्यासिनो र ‘रत्ना होटल’ भित्रको गोल्डेन क्यासिनोमा एकैसाथ छापा मारेको थियो। प्रहरीका अनुसार राति ११ बजे गरिएको उक्त कारबाहीमा गोल्डेन क्यासिनोका महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका व्यवस्थापक रामकृष्ण गौतम पक्राउ परेका छन्। यस्तै, प्रहरीले रत्ना होटलको क्यासिनोबाट १४ जना र बिग होटलको क्यासिनोबाट ६ जना गरी २० जना नेपाली जुवाडेलाई नियन्त्रणमा लिएको छ। नेपालको कानुनले नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा पूर्ण प्रतिबन्ध लगाएको छ। तर, यी क्यासिनोहरूले कानुनलाई चुनौती दिँदै नेपालीलाई निर्वाध रूपमा प्रवेश गराएर लाखौँको जुवा खेलाइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको हो। एसपी कटुवालले भन्नुभयो “हामीले छापा मार्दा क्यासिनोभित्र नेपालीहरू निर्वाध रूपमा खेलिरहेको फेला पार्यौँ। कानुनको बर्खिलाप गर्ने क्यासिनो व्यवस्थापन र त्यहाँ खेल्न जाने सबैलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ।” पक्राउ परेका सबैलाई हाल जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ। प्रहरीले उनीहरू विरुद्ध आजै जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप कानुनी प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ। विराटनगरमा सञ्चालित यी क्यासिनोहरूले विदेशी पर्यटक भित्र्याउने नाममा नेपाली नागरिकलाई नै कंगाल बनाउने गरी अवैध गतिविधि सञ्चालन गरिरहेको गुनासो बढ्दै गएपछि छापा मारिएको प्रहरीले बताएको छ।