search logo
NOTIFICATIONS

एमालेको महाधिवेशन, निर्वाचन प्रक्रिया सुरु

हाम्रो पेज

२९ मंसिर २०८२, सोमबार १२:४८

काठमाडौं, २९ मंसिर । नेकपा एमालेको जारी महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। सहमतिको प्रयास सफल नभएपछि निर्वाचन प्रक्रिया अघि बढाइएको छ । सोमबार बिहान मनोनयन दर्ताका लागि फाराम वितरण हुँदा आकाङ्क्षीहरूको संख्या अत्यधिक देखिएको छ।एमाले महाधिवेशन प्रचार कमिटीका अनुसार ३०१ सदस्यीय केन्द्रीय कमिटी पदाधिकारी सहित का लागि १४ सय भन्दा बढी मनोनयन फारम वितरण भइसकेको छ। फारम वितरण र दर्ताका लागि आज दिउँसो साढे १ बजेसम्मको समय तोकिएको छ। केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार, पुस १ गते दिउँसो ११ बजेबाट मतदान तय भएको छ । भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशन भृकुटिमण्डपमा बन्दसत्र जारी छ । महाधिवेशनको सरगर्मी बढिरहँदा अध्यक्ष केपी शर्मा ओलीले तेस्रो कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिँदै हुनुहुन्छ ।ओलीको टिमबाट पदाधिकारीमा उठ्ने नेताहरूको खाका तयार भइसकेको छ । ओली समूहबाट महासचिवमा शंकर पोखरेललाई नै अघि सार्ने तयारी छ । उपाध्यक्षहरुमा विष्णु पौडेल, रामबहादुर थापा बादल, गुरु बराल, पृथ्वीसुब्बा गुरुङको नाम टुंगो लागिसकेको छ । ओली समूहले प्रदीप ज्ञवालीलाई पनि उपाध्यक्षको सूचीमा राखे पनि उहाँको नाम टुंगो लागिसकेको छैन । यसैगरी उपमहासचिव पदमा विष्णु रिमाल, भानुभक्त ढकाल र रघुबिर महासेठको नाम फाइनल भएको छ । ९ सचिवमा शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, पद्मा अर्याल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र लेखराज भट्टको नाम टुंगो लागेको स्रोतले बताएको छ । पदाधिकारीमा आकांक्षी रहेका तर दुवै समूहमा नपरेका नेताहरुले भने स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।

उता नेकपा एमालेको पदाधिकारीका लागि ईश्वर पोखरेल समूहले उम्मेदवार टुंगो लगाएको छ । अध्यक्ष पदमा ईश्वर पोखरेल आफैंले प्रतिस्पर्धा गर्दैहुनुहुन्छ । महासचिवमा सुरेन्द्र पाण्डेको नाम टुंगो लागेको छ । यसैगरी उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल उम्मेदवार बन्ने पक्का भएको छ । उपमहासचिव पदमा योगेश भट्टराईको नाम पक्का भएको छ । उपमहासचिव उम्मेदवारको सूचीमा बैजनाथ चौधरीको नाम पनि छ । सचिव पदमा रचना खड्का, विनोद ढकाल, कर्ण थापा, ठाकुर गैरे, इन्द्रलाल सापकोटा, पुरुषोत्तम पौडेल लगायतको नाम करिब टुंगो लागेको छ । ईश्वर पोखरेल समूहले सचिव उम्मेदवारको सूचीमा कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटाको नाम पनि राखेको छ ।