कुवेतमा विषाक्त मदिरा सेवनबाट १६ नेपाली श्रमिकहरूको दुःखद निधन

हाम्रो पेज

३० श्रावण २०८२, शुक्रबार १९:५०

एजेन्सी, ३० श्रावण । कुवेतमा अवैध तथा विषाक्त मदिरा पिउँदा मृत्यु हुने नेपालीको संख्या १६ पुगेको छ । ज्यान गुमाएका २३ एसियाली नागरिकमध्ये १६ जना नेपाली रहेको नेपाली दूतावासलाई उदृत गर्दै नेपाल पत्रकार महासंघ कुवेत शाखाले पुष्टि गरेको छ । महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै अवैध विषादी युक्त मदिरा सेवनका कारण ज्यान गुमाउनेको पूर्ण विवरण अझै नखुले पनि १६ जना नेपालीको ज्यान गएको जनाएको छ ।‘१६ जना नेपाली नागरिक रहेको आधिकारिक जानकारी प्राप्त भयो, ज्यान गुमाउनेहरूको नेपालको ठेगाना र कम्पनी विवरण प्राप्त भइसकेको छैन ‘ पत्रकार महासंघका कुवेत शाखा अध्यक्ष राज मल्लले भने । यस दुःखद घटनाले कुवेतमा कार्यरत सम्पूर्ण नेपाली समुदायलाई स्तब्ध बनाएको छ। गैरकानुनी रूपमा उत्पादित तथा बिक्री(वितरण गरिएको मदिरा सेवनका कारण अन्य १५ जनाभन्दा बढी नेपालीहरू गम्भीर बिरामी परेका छन् र उनीहरूको कुवेतका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको जाब्रियास्थित नेपाली दूतावासले पुष्टि गरेको छ। दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यका अनुसार, विगत तीन दिनको अवधिमा यी मृत्युका घटनाहरू भएका हुन्। यद्यपि मृत्युको आधिकारिक कारण यकिन गर्न मेडिकल रिपोर्ट प्रतीक्षा गरिरहेको भए तापनि प्रारम्भिक अनुसन्धान र अस्पतालमा भर्ना भएका अन्य नेपालीहरूको अवस्था हेर्दा विषाक्त मदिरा नै प्रमुख कारण रहेको बलियो आशङ्का गरिएको छ। यो घटनाले कुवेतमा रहेका अन्य देशका नागरिकहरूलाई पनि प्रभावित पारेको छ। कुवेतको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार, मेथनोल नामक विषाक्त रसायन मिसाइएको मादक पदार्थ सेवनबाट हालसम्म १६० जना प्रभावित भएका छन्, जसमध्ये मृतकको कुल सङ्ख्या २३ पुगेको छ। बिरामीहरूको अवस्था निकै गम्भीर रहेको र अधिकांशलाई सघन उपचार कक्ष आईसीयू मा राखेर भेन्टिलेटर तथा आपत्कालीन डायलिसिस जस्ता उपचार विधिहरू अपनाइएको छ।  नेपाल सरकारले घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुुशार मन्त्रालयले कुवेतस्थित नेपाली दूतावासलाई मृतकहरूको शव व्यवस्थापन, घाइतेहरूको उपचारमा सहजीकरण र पीडितका परिवारसँग समन्वय गर्नका लागि आवश्यक सबै कदम चाल्न निर्देशन दिइसकेको छ। गैरआवासीय नेपाली सङ्घ एनआरएनए कुवेतका अनुसार, श्रमिकहरूले सप्ताहान्तमा उक्त मदिरा सेवन गरेको र त्यसको असर मङ्गलबारदेखि देखिन थालेको अनुमान छ। एनआरएनएका अध्यक्ष दिलकुमार पाख्रिनले पछिल्लो समय कुवेत सरकारले गैरकानुनी मदिरा उत्पादन तथा बिक्री वितरणमाथि कडा निगरानी बढाएपछि अभाव सिर्जना भएको र मुनाफाखोरहरूले खतरनाक रसायन प्रयोग गरेर मदिरा बनाउँदा यस्तो दर्दनाक घटना निम्तिएको बताउनुभएको छ ।