सुनसरीको दुहबीमा निर्माणाधीन घरको सेफ्टी ट्यांकीमा ठेकेदार र कामदारको शव

हाम्रो पेज

२८ श्रावण २०८२, बुधबार १३:१६

२८ श्रावण,दुहबी, सुनसरी । सुनसरीको दुहबी नगरपालिका–४ स्थित शिव मन्दिर चोकमा एक निर्माणाधीन घरको सेफ्टी ट्यांकीभित्र दुई जना पुरुषको शव फेला परेपछि स्थानीय क्षेत्रमा सनसनी मच्चिएको छ। मृतकहरू सोही घर निर्माणमा संलग्न पेटी ठेकेदार र एक कामदार रहेको खुलेको छ। मोरङ प्रहरी प्रवक्ता, डीएसपी योगराज खतिवडाका अनुसार मृतकहरू दुहबी नगरपालिका निवासी ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राई हुन्। प्रहरीका अनुसार तामाङ उक्त घरका पेटी ठेकेदार थिए भने राई कामदारको रूपमा कार्यरत थिए। स्थानीय चन्द्रिका रौनियारको निर्माणाधीन घरमा बुधबार बिहान करिब १० बजेतिर सेफ्टी ट्यांकीभित्र दुई जनालाई मृत अवस्थामा देखेपछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए। सूचना पाउनासाथ प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको थियो।


घटनाको प्रकृति रहस्यमय देखिएकाले यसको गहिरो अनुसन्धानका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ चिकित्सकसहितको फरेन्सिक टोलीलाई घटनास्थलमा बोलाइएको छ। उनीहरूको मृत्युको कारण निसास्सिएर भएको हो वा यसमा अन्य कुनै कारण छ भन्नेबारे फरेन्सिक रिपोर्ट र प्रहरीको विस्तृत अनुसन्धानपछि मात्रै खुल्ने डीएसपी खतिवडाले जानकारी दिनुभयो। घटनास्थललाई सुरक्षित राखी शव परीक्षणको प्रक्रिया अगाडि बढाएको र घटनाबारे थप सोधपुछ तथा अनुसन्धान जारी राखेको प्रहरीले बताएको छ ।