search logo
NOTIFICATIONS

‘सरकारले देश लुट्ने टेन्डर पाएजस्तो छ’ – रास्वपा र राप्रपाद्वारा ५८औं दिन पनि संसद बैठक बहिष्कार

हाम्रो पेज

७ श्रावण २०८२, बुधबार १४:२३

काठमाडौँ, ७ श्रावण । प्रतिनिधिसभामा प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सरकारविरुद्धको आफ्नो विरोधलाई आज पनि निरन्तरता दिएका छन्। भ्रष्टाचार र मानव तस्करीका विषयमा सरकार गम्भीर नभएको भन्दै लगातार ५८ दिनदेखि संसद अवरोध गर्दै आएका यी दुई दलले बुधबारको बैठक पनि बहिष्कार गरेका छन्। बैठक सुरु भएलगत्तै समय लिएर बोलेकी रास्वपा सांसद विन्दवासिनी कंसाकारले भिजिट भिसाको आडमा भइरहेको मानव तस्करीको जालो नतोडिएको र तस्करहरू सरकारसँग नडराएको आरोप लगाउनुभयो। उहाँले घुस प्रकरणमा मुछिएका मन्त्रीलाई कारबाही नगरिएकोमा आक्रोश व्यक्त गर्दै भन्नुभयो, ‘टिभीको धारावाहिक श्रृङ्खलाजस्तै हरेक दिन भ्रष्टाचारको नाङ्गो समाचार आइरहेका छन्। ७८ लाखको काण्ड सेलायो, ३२ लाखवाला मन्त्री अझै यतै छन्। छानबिन र कारबाही हुनुपर्छ कि पर्दैनः ’ आफ्नो माग यथावत् रहेको र आन्दोलन जारी रहने बताएपछि रास्वपाका सांसदहरूले बैठक बहिष्कार गरेका थिए। यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमाथि अहिलेसम्मकै सबैभन्दा गम्भीर र आक्रामक आरोप लगाउनुभयो । उहाँले वर्तमान सरकारले देश लुट्ने ठेक्का टेन्डर पाएजस्तो व्यवहार गरिरहेको टिप्पणी गर्नुभयो । ‘अहिले कांग्रेस र एमालेजस्तो दुई ठूला दल मिलेको सरकारले देश लुट्नलाई टेन्डर पारेजस्तो व्यवहार गरिरहेको छ,’ लिङ्देनले भन्नुभयो , ‘यसरी प्रतिस्पर्धा चलिराखेको छ कि कुन मन्त्रीले, कुन मन्त्रीभन्दा छिटो र कसले धेरै कमाउने भन्ने प्रतिस्पर्धा चलिराखेको छ।’ भ्रष्टाचारको जरो राजनीतिमा रहेको र त्यसलाई अन्त्य गर्न राजनीतिक नेतृत्वमाथि नै छानबिन हुनुपर्ने उहाँको माग थियो। उहाँले थप भन्नुभयो, ‘अहिले भ्रष्टाचार कहाँ(कहाँ छ भनेर खोज्नुपर्ने अवस्था रहेन, भ्रष्टाचार कहाँ छैन भनेर खोज्नुपर्ने अवस्था आएको छ।’ सरकारले आफ्ना माग नसुने सडकबाट दबाब दिने चेतावनी दिँदै राप्रपाले पनि बैठक बहिष्कार गर्‍यो।
आफ्ना धारणा राखेपछि दुवै दलका सांसदहरू सभाकक्षबाट बाहिरिएका थिए। करिब दुई महिनादेखि जारी यो अवरोध र बहिष्कारले संसद्को नियमित कामकारबाही प्रभावित बनेको छ भने सरकार र प्रतिपक्षबीचको दूरी झनै बढेको संकेत गरेको छ।