हाम्रो पेज
विराटनगर, २९ अषाढ । मोरङ प्रहरीले लागूऔषध ओसारपसारविरुद्ध ठूलो सफलता हात पारेको छ। प्रहरीले आइतबार दिउँसो कटहरी गाउँपालिकाबाट ३१ क्विन्टलभन्दा बढी गाँजा लोड गरिएको एक ट्रक नियन्त्रणमा लिएको छ। प्रहरीलाई देख्नासाथ चालक भने ट्रक सडकमै छाडेर भाग्न सफल भएका छन्। जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार, नियमित चेकजाँचका क्रममा आइतबार दिउँसो करिब साढे १२ बजे कटहरी गाउँपालिका–३ स्थित सडकखण्डमा दक्षिणतर्फ जाँदै गरेको को १ ख ४५१८ नम्बरको ट्रकलाई रोक्न खोजिएको थियो। तर, प्रहरी टोलीलाई देख्नासाथ चालकले ट्रक सडकमै छाडेर भागेका थिए। जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता, प्रहरी नायब उपरीक्षक डीएसपी कोपिला चुँडालका अनुसार, शंका लागेर ट्रकमा खानतलासी गर्दा १०५ वटा बोरामा प्याक गरिएको अवस्थामा गाँजा फेला परेको थियो। प्रारम्भिक अनुसन्धानमा ट्रकभित्र १०५ बोरा गाँजा भेटिएको हो, डीएसपी चुँडालले जानकारी दिनुभयो, त्यसलाई नापतौल गर्दा कुल ३ हजार १५० किलो रहेको पुष्टि भएको छ। प्रहरीले ट्रक र बरामद गरिएको गाँजा नियन्त्रणमा लिएको छ। फरार रहेका चालकको पहिचान गरी खोजी कार्य तीव्र पारिएको डीएसपी चुँडालले बताउनुभयो। प्रहरीले यो ठूलो परिमाणको गाँजाको स्रोत र यसमा संलग्न हुन सक्ने संगठित गिरोहबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।