search logo
NOTIFICATIONS

एशियन कपको यात्रामा टाईब्रेकर तगारो, जित नजिक पुगेको नेपाल उज्वेकिस्तानसँग ४–२ गोलअन्तरले पराजित

हाम्रो पेज

२२ असार २०८२, आईतवार ०७:५८
विराटनगर, २२ अषाढ । नेपाल उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कपमा छनोट हुन असफल भएको छ । एएफसी महिला एशियन कप सन् २०२६ को छनोटअन्तर्गत निर्णायक खेलमा नेपाल घरेलु टोली उज्वेकिस्तानसँग पराजित भएको हो । योसँगै नेपालले सन् २०२६ मा अष्ट्रेलियामा हुने महिला एशियन कप खेल्न नपाउने भएको छ ।

उज्वेकिस्तानको तास्केन्तमा गएराति भएको खेलमा नेपाल उज्वेकिस्तानसँग टाइब्रेकरमा पराजित भएको हो । निर्धारित समयमा ३–३ गोलको बराबरीमा खेल सकियो । नेपालले गरेका तीनवटै गोल कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले गरेकी हुन् । उज्वेकिस्तानकी खबीबुल्लाएभा, कराचिक र शोयिमोभाले समान एक गोल गरे । निर्धारित समयमा बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा नेपाल उज्वेकिस्तानसँग ४–२ गोलले पराजित भयो । योसँगै उज्वेकिस्तान २२ वर्षपछि एएफसी एशियन कप खेल्ने भएको छ । निर्धारित समयमा ह्याट्रिक गोल गरेकी साबित्रा भण्डारीको प्रहार बारमा लाग्दा गोलकिपर अन्जना रानामगरको प्रहार विपक्षी गोलरक्षकले बचाएकी थिइन् । टाईब्रेकरमा नेपालका गिता राना र सबिता रानामगरले गोल गरे ।


उज्बेकिस्तानका लागि भने ४ वटै प्रहार सफल भयो । माफ्तुना शोयीमोभा, नोजिमाखोन एर्गाशेभा, मादिना खिमातोभा, सेभिन्च कुचकोरोभाले गोल गरे ।
यसअघि निर्धारित समयमा भएको खेलको दोस्रो मिनेटमा नै उज्वेकिस्तानले गोल गरेको थियो । ११ औं मिनेटमा उज्बेकिस्तानले अग्रता दोब्बर पा¥यो ।
२४ औं मिनेटमा साबित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरिन् । तर, ३९ औं मिनेटमा पेनाल्टीमार्फत शोएमोभले गोल गर्दै उज्वेकिस्तानको अग्रता बढाइन् ।
यद्यपी पहिलो हाफको इन्जुरी समयमा एन एर्गासेभाले दोहोरो पहेंलो कार्डसहित रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि उज्बेकिस्तान दोस्रो हाफमा १० खेलाडीमा सीमित रहेर खेलेको थियो ।
दोस्रो हाफको ७० औं र ७१ औं मिनेटमा सावित्राले लगातार गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् । त्यसपछि थप गोल नहुँदा खेल टाइब्रेकरमा धकेलिएको थियो । हारसँगै नेपालले एसियन कपको अवसर मात्र नभएर अन्य प्रतियोगिताहरू खेल्ने अवसर पनि गुमाएको छ ।