हाम्रो पेज
कैलाली, २८ जेठ I भारतमा कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्न थालेसँगै सुदूरपश्चिम प्रदेशमा उच्च सतर्कता अपनाइएको छ। पछिल्लो एक सातामा मात्रै भारतबाट फर्किएका १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रदेशमा जोखिम बढेको हो।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार कैलालीको त्रिनगर र बैतडीको झुलाघाट नाका हुँदै नेपाल भित्रिएकाहरूमा सङ्क्रमण देखिएको हो। मंगलबार मात्रै भारतबाट फर्किएका दुई जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। गौरीफन्टा त्रिनगर र झुलाघाट नाकामा एक, एक जनामा सङ्क्रमण पाइएको थियो। मंगलबार यी नाकाहरूबाट भित्रिएका ६४३ जनामध्ये केवल १४ जनाको परीक्षण सम्भव भएको थियो, जसमा दुई जनाको रिपोर्ट पोजिटिभ आएको हो।
स्वास्थ्यकर्मीहरूका अनुसार त्रिनगर नाकामा भेटिएका अधिकांश सङ्क्रमितहरू भारतको दिल्लीबाट फर्किएका हुन्, जसले गर्दा समुदायस्तरमा सङ्क्रमण फैलिन सक्ने चिन्ता बढेको छ। सीमा नाकामा रहेका हेल्थ डेस्कहरूमा परीक्षण कीटको चरम अभाव हुँदा रोकथामको प्रयासमा चुनौती थपिएको छ। स्वास्थ्य विभागले हालै २०० कीट पठाएपछि पनि सम्पूर्ण प्रदेशमा जम्मा ३७० वटा मात्रै कीट उपलब्ध रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ। यसैबीच, कञ्चनपुरको गड्डाचौकी नाकामा मंगलबार १०० थान कीट उपलब्ध भएपछि परीक्षण सुरु गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओमप्रकाश जोशीले मंगलबारदेखि नाकामा परीक्षण सुरु गरिएको र पहिलो दिन सात जनाको परीक्षण गरिएको बताउनुभयो। हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीहरूले कोभिडका साथै मलेरिया, डेङ्गु जस्ता अन्य रोगहरूको पनि परीक्षण तथा परामर्श सेवा दिइरहेका छन्।
भारतमा नयाँ भेरियन्टबाट ७० को मृत्यु, सक्रिय सङ्क्रमितको संख्या बढ्दो
भारतमा कोरोना भाइरसको सङ्क्रमण पुनः तीव्र गतिमा फैलिन थालेको छ। कोरोनाको नयाँ भेरियन्टका कारण १२ राज्यमा हालसम्म ७० जना सङ्क्रमितको मृत्यु भइसकेको छ। सोमबार मात्रै कर्नाटकमा थप दुई जनाको मृत्यु भएसँगै त्यहाँ कुल मृतकको संख्या ११ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभरि सक्रिय सङ्क्रमितको संख्या ६,८१५ पुगेको छ, जसमा सबैभन्दा बढी केरलामा २,०५३ जना सक्रिय सङ्क्रमित छन्। पछिल्लो २४ घण्टामा ३२४ नयाँ सङ्क्रमित थपिएका छन् भने ५ जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेमा कर्नाटकका दुई तथा केरल, दिल्ली र झारखण्डका एक एक जना रहेका छन्। कोरोनाका कारण अहिलेसम्म सबैभन्दा बढी १८ जनाको मृत्यु महाराष्ट्रमा भएको छ भने त्यसपछि केरलामा १६ जनाको मृत्यु भएको छ। यस्तै, मध्य प्रदेशको ग्वालियरमा सोमबार ३ जना डाक्टरसहित ६ नयाँ सङ्क्रमित भेटिएका छन्। मध्य प्रदेशमा हाल ४३ सक्रिय सङ्क्रमित उपचाररत छन्।