हाम्रो पेज
विराटनगर, १८ साउन । विराटनगरका उद्योगी तथा मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडाको निवास र कार्यालयमा सोमबार बिहान प्रहरीले छापा मारेर गरेको व्यापक खानतलासी अन्ततः निष्कर्षविहीन बनेको छ।
विशेष सूचनाका आधारमा गरिएको अपरेसनमा करिब साढे पाँच घण्टासम्म खानतलासी गरिएपनि कुनै आपत्तिजनक सामग्री, नगद वा प्रमाण फेला नपरेपछि प्रहरी टोली रित्तो हात फर्किन बाध्य भएको हो। जिल्ला प्रहरी कार्यालय मोरङ, वडा प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीको नेतृत्व मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले गर्नुभएको थियो I प्रहरी स्रोतका अनुसार अवैध रूपमा ठूलो परिमाणमा नगद राखिएको हुन सक्ने सूचनाका आधारमा अपरेसन सञ्चालन गरिएको हो ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेशका उपाध्यक्षसमेत रहेका मुन्दडाको घरमा बिहान करिब ४ बजेदेखि सुरु भएको अपरेसनका क्रममा विराटनगर–७ स्थित निवास र कार्यालय क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको थियो। ठूलो संख्यामा परिचालित प्रहरी टोलीले घरदेखि कार्यालयसम्म सघन खोजतलास गरेको थियो भने केही समय आसपासको आवागमनसमेत प्रभावित बनेको थियो।
लामो समयसम्म गरिएको खोजीका क्रममा कुनै पनि शंकास्पद सामग्री बरामद हुन नसकेको प्रहरीले जनाएको छ। मोरङ प्रहरी प्रमुख एसपी कटवालले विशेष सूचनाका आधारमा कारबाही गरिएको भएपनि अपेक्षित प्रमाण फेला नपरेको बताउनुभयो ।
घटनापछि विराटनगरको उद्योग तथा व्यापार क्षेत्रमा भने व्यापक चर्चा सुरु भएको छ। मुन्दडाको घरमा ठूलो संख्यामा प्रहरी परिचालनसहित छापा मारिए पनि कुनै उपलब्धि हासिल नभएपछि प्रहरी सूचनाको विश्वसनीयता र अपरेसनको प्रभावकारिताबारे विभिन्न कोणबाट बहस हुन थालेको छ। कतिपयले भने पछिल्लो समय सरकारले ब्यापारीहरुलाई त्रासमा पारिरहेको समेत टिप्पणी गरिरहेका छन् I