शान्ति र एकताका लागि विराटनगरमा सद्भाव र्याली

हाम्रो पेज

१५ श्रावण २०८३, शुक्रबार १९:२८

विराटनगर, १५ श्रावण । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि विभिन्न स्थानमा बढ्दो तनावका बीच कोशी प्रदेशको राजधानी विराटनगरमा शुक्रबार सद्भाव र्‍याली आयोजना गरिएको छ । ‘सद्भाव नै हाम्रो धर्म, एकता नै हाम्रो शक्ति’ भन्ने नारासहित निकालिएको र्‍यालीमा नागरिक समाज, विभिन्न धार्मिक समुदाय, सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा, विद्यार्थी तथा राजनीतिक दलका प्रतिनिधिको उल्लेख्य सहभागिता रहेको थियो । र्‍याली जिल्ला प्रशासन कार्यालयको समन्वयमा आयोजना गरिएको हो ।

र्‍याली विराटनगरको महेन्द्र चोकबाट सुरु भई ट्राफिक चोक, मेनरोड, जलजला चोक र गोल्छा चोक हुँदै जिल्ला प्रशासन कार्यालय परिसरमा पुगेर समापन भएको थियो । सहभागीले राष्ट्रिय झण्डा बोकेर सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी विश्वासलाई थप मजबुत बनाउनुपर्ने सन्देश दिएका थिए । यसअघि शुक्रबार बिहान विराटनगरका केही क्षेत्रमा युवाको एक समूहले बजार बन्द गराएपछि सर्वसाधारणमा केही समय अन्योलको अवस्था सिर्जना भएको थियो । त्यसपछि शान्ति, सहिष्णुता र सामाजिक एकताको पक्षमा सकारात्मक सन्देश प्रवाह गर्न नागरिक समाजसहित विभिन्न निकायको पहलमा सद्भाव र्‍याली आयोजना गरिएको हो । सहभागीले जात, धर्म, भाषा र संस्कृतिको विविधता नेपालको पहिचान भएको उल्लेख गर्दै कुनै पनि प्रकारको विभाजन, द्वन्द्व वा हिंसाले समाज र मुलुकको हित नगर्ने धारणा राखेका थिए । उनीहरूले सामाजिक सद्भाव कायम राख्दै समस्या समाधानका लागि संवाद र संयमको बाटो रोज्नुपर्नेमा जोड दिएका थिए । र्‍यालीका क्रममा ‘बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशालः अग्रगामी राष्ट्र, जय जय नेपाल’ लेखिएको मुख्य ब्यानर प्रदर्शन गरिएको थियो । सहभागीले विराटनगरलाई सद्भाव, सहअस्तित्व र सामाजिक एकताको सहरका रूपमा स्थापित गरिराख्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका थिए । सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा गत आइतबार राति दुई समूहबीच भएको झडपका क्रममा सशस्त्र प्रहरीले गोली चलाउँदा स्थानीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो । घाइते भएका जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार मृत्यु भएपछि घटनालाई लिएर विभिन्न स्थानमा प्रदर्शन र विरोधका कार्यक्रमसमेत भएका छन् । त्यही घटनाको प्रभाव सिरहा समेत अशान्त हुँदा गणेश यादवको गोली लागेर मृत्यु भएको छ । सुनसरी घटनापछि ३ जनाको मृत्यु भएपछि शान्ति, संयम र सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले देशका विभिन्न शहरहरुमा सद्भाव र्यालीहरुको आयोजना हुँदै आएको छ । यसैबीच सुनसरी घटनामा ज्यान गुमाएका दुई युवाको शव आज परिवारजनले बुझेका छन् । आज विहान गृहमन्त्री सुधन गुरुङसँग ७ बुँदे सहमति भएपछि परिवारजनले मृतक दुई युवाको शव बुझेका हुन् ।