हाम्रो पेज
विराटनगर, २५ असार । फिफा विश्वकप २०२६ को पहिलो क्वार्टरफाइनलमा उपाधि दाबेदार फ्रान्स र अफ्रिकी शक्ति मोरक्को आमनेसामने हुँदैछन्। अमेरिकाको बोस्टनमा हुने यो बहुप्रतीक्षित खेल नेपाली समयअनुसार मध्यराति १ः४५ बजे सुरु हुनेछ। चार वर्षअघि कतार विश्वकप २०२२ को सेमिफाइनलमा भिडेका यी दुई टोली यसपटक क्वार्टरफाइनलमै आमनेसामने हुन लागेका हुन्। त्यसैले यो खेललाई विश्वकपकै सबैभन्दा रोमाञ्चक र प्रतिस्पर्धात्मक भिडन्तमध्ये एक मानिएको छ।
फ्रान्सले प्रिक्वार्टरफाइनलमा पाराग्वेलाई १–० ले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो भने मोरक्कोले क्यानडामाथि ३–० को प्रभावशाली जित निकाल्दै क्वार्टरफाइनल यात्रा तय गरेको थियो। विश्वकप इतिहासमा फ्रान्स र मोरक्कोबीच यो दोस्रो भेट हो। सन् २०२२ को सेमिफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै फाइनल पुगेको थियो। उक्त खेलमा थियो हर्नान्डेजले पाँचौं मिनेटमा र रान्डाल कोलो मुआनीले ७९औं मिनेटमा गोल गरेका थिए। त्यसपछि मोरक्को तेस्रो स्थानको खेलमा क्रोएसियासँग पराजित हुँदै चौथो स्थानमा सीमित भएको थियो।
समग्र अन्तर्राष्ट्रिय भेटमा भने दुवै टोलीबीच ६ खेल भएका छन्। जसमा फ्रान्सले ४ खेल जितेको, मोरक्कोले १ खेल आफ्नो पक्षमा पारेको तथा १ खेल बराबरीमा सकिएको छ। यसपटक पनि मोरक्को क्वार्टरफाइनल पुग्ने एकमात्र अफ्रिकी टोली बनेको छ। तर फ्रान्सविरुद्धको महत्त्वपूर्ण खेलमा टोलीले मुख्य फरवार्ड स्माइल साइबरीको साथ पाउने छैन। क्यानडाविरुद्धको खेलमा ह्यामस्ट्रिङ चोट बोकेका साइबरी अझै उपचाररत छन्। उनको स्थानमा सुफियान राहिमीले सुरुआत गर्ने सम्भावना छ।
साइबरीको अनुपस्थिति मोरक्कोका लागि ठूलो धक्का मानिएको छ। उनले यस विश्वकपअघि नेदरल्यान्ड्स, ब्राजिल, स्कटल्यान्ड र हाइटीविरुद्ध गोल गर्दै उत्कृष्ट लय प्रदर्शन गरेका थिए। यता फ्रान्सका विंगर माइकल ओलिस पहेँलो कार्डको जोखिममा छन्। पाराग्वेविरुद्ध पाएको पहेँलो कार्डविरुद्ध फ्रान्सले गरेको अपिल फिफाले अस्वीकार गरेपछि ओलिस आज फेरि पहेँलो कार्ड पाए र फ्रान्स सेमिफाइनल पुगेमा उनले अन्तिम चारको खेल गुमाउनेछन्। त्यसैले उनी निकै सतर्क भएर मैदान उत्रिने अपेक्षा गरिएको छ। फ्रान्सका मिडफिल्डर ओरेलियन चुआमेनी र फरवार्ड मार्कुस थुराम भने फिट हुँदै टोलीमा फर्किने सम्भावना छ। चुआमेनीले पाराग्वेविरुद्धको खेल गुमाएका थिए।
अन्य क्वार्टरफाइनल तालिका
स्पेनविरुद्ध बेल्जियम — शुक्रबार राति १२ः४५ बजे
नर्वेविरुद्ध इङ्ग्ल्यान्ड — आइतबार बिहान २ः४५ बजे
अर्जेन्टिनाविरुद्ध स्विट्जरल्यान्ड — आइतबार बिहान ६ः४५ बजे
बोस्टनमा हुने फ्रान्स र मोरक्कोको भिडन्तमा अनुभव र इतिहास फ्रान्सको पक्षमा देखिए पनि संघर्षशील मोरक्को फेरि एकपटक नयाँ इतिहास रच्ने लक्ष्यसहित मैदान उत्रिनेछ। त्यसैले विश्व फुटबलप्रेमीको नजर भोलि विहानको पहिलो क्वार्टरफाइनलमै केन्द्रित रहनेछ।