सशस्त्र प्रहरीद्वारा विराटनगरबाट करिब ३६ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद

हाम्रो पेज

१९ असार २०८३, शुक्रबार १७:०५

विराटनगर, १९ असार I सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङले विशेष सूचनाको आधारमा सञ्चालन गरेको निगरानी तथा गस्तीका क्रममा करिब ३६ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले जिल्ला मोरङ, विराटनगर महानगरपालिका–१ स्थित बरगाछी क्षेत्रमा सडक छेउमा लोड गर्न तयारी अवस्थामा राखिएको सामानमाथि शंका लागी चेकजाँच गर्दा एमआरपी मूल्य रु. ३० लाख ८४ हजार बराबरको मल्टिभिटामिन औषधी फेला पारेको हो। बरामद औषधी आवश्यक कानुनी कारबाहीकालागि भन्सार कार्यालय बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ।

यसैगरी, दरैया र मटेरुवा क्षेत्रबाट दुईवटा सिटी सफारीमा लोड गरी भारतबाट अवैध रूपमा ल्याउँदै गरेको डाल्डा घ्यू तथा २० प्याकेट पुटिन समेत बरामद गरिएको छ। उक्त सामान तथा सवारी साधनसहितको अनुमानित मूल्य रु. ५ लाख २५ हजार रहेको बताइएको छ। बरामद गरिएका सामान र सिटी सफारी आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

सीमावर्ती क्षेत्रमा हुने अवैध चोरीपैठारी तथा राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी र गस्तीलाई थप प्रभावकारी बनाउँदै आएको जनाएको छ।