search logo
NOTIFICATIONS

निर्वाचनको रिपोर्टिङमा पत्रकार नै असुरक्षित , झापा ५ मा रिपोर्टिङमा गएका पत्रकार कुटिए

हाम्रो पेज

१५ फाल्गुन २०८२, शुक्रबार १३:००

विराटनगर,१५ फाल्गुन । आसन्न प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा झापा क्षेत्र नंं ५ मा चुनावी गतिविधिका खबर संकलन गर्न पुगेका पत्रकारमाथि आक्रमण भएको छ। रातोपाटी अनलाइनमा कार्यरत विराटनगरका पत्रकार अर्जुन आचार्यमाथि नेपाल कम्युनिष्ट पार्टी एमालेका कार्यकर्ताले कुटपिट गरेको आरोप लागेको हो। पत्रकार आचार्यका अनुसार एमाले अध्यक्ष तथा झापा–५ का उम्मेदवार केपी शर्मा ओली को घरदैलो कार्यक्रम कभर गर्ने क्रममा उनीमाथि भौतिक आक्रमण गरिएको हो। बिहीबार साँझ करिब ५ बजे कमल गाउँपालिका–२, जीवनपुरस्थित जीवन चोकमा रिपोर्टिङ गरिरहँदा एमालेको ‘युथ भोलेन्टियर्स’ समूहका ४–५ जनाले आफूलाई नियन्त्रणमा लिएर कुटपिट गरेको उहाँले बताउनु भएको छ । आचार्यले जारी गरेको प्रेस नोटमा उल्लेख भएअनुसार स्थानीय चुनावी माहोल र उत्साह कैद गर्ने क्रममा केही महिलाहरू आक्रोशित देखिएपछि उहाँ वास्तविकता बुझ्न पुग्नु भएको थियो । ती महिलाहरूले ‘भोट केमा ?’ भन्ने नाराको जवाफमा ‘घण्टीमा’ भनेपछि एमाले समर्थक युवाहरूले उनीहरूमाथि दुर्व्यवहार गरेको बताएका थिए। सो दृश्य मोबाइलमा कैद गर्न खोज्दा आफूलाई एकान्तमा लगेर अन्धाधुन्ध कुटपिट गरिएको आचार्यको भनाइ छ। आफू पत्रकार भएको र चुनावी रिपोर्टिङमा आएको परिचय दिँदादिँदै पनि आक्रमण जारी राखिएको उहाँले बताउनु भएको छ । आक्रमणकारीहरूले मोबाइल र चस्मा खोसेर लगेका छन् भने ‘दमक आइज, हिसाब बाँकी छ’ भन्दै धम्कीसमेत दिएको आचार्यले उल्लेख गर्नुभएको छ । असुरक्षाका कारण तत्काल विराटनगर फर्किएको र चिकित्सकले टाउको तथा अनुहारमा चोट देखिएकाले सिटी स्क्यान गर्न सल्लाह दिएको उहाँले जानकारी दिनुभयो । घटनापछि पत्रकार आचार्यले आक्रमणमा संलग्न समूहको पहिचान गरी तत्काल पक्राउ गरेर कडा कानुनी कारबाही गर्न नेपाल सरकार र गृह प्रशासनसँग माग गर्नुभएको छ । साथै निर्वाचनजस्तो संवेदनशील समयमा स्वतन्त्र पत्रकारिताको संवैधानिक हक सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउनु भएकोछ । घटनाको नेपाल पत्रकार महासंघ, मोरङ र नेपाल पत्रकार महासंघ, कोशी प्रदेश समिति ले भर्त्सना गरेका छन्। महासंघ मोरङ शाखाका सचिव नेत्र पी. अधिकारीद्वारा जारी विज्ञप्तिमा आक्रमणबाट आचार्यको आँखा, गाला र हातमा चोट लागेको उल्लेख गर्दै दोषीमाथि तत्काल कारबाही गर्न माग गरिएको छ। कोशी प्रदेश समितिले पनि निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ। यसैगरी प्रेस सेन्टर नेपालले प्रेस विज्ञप्ति जारी गर्दै आक्रमणमा संलग्न एमालेका भोलेन्टेयर सदस्यहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न जोडदार माग गरेको छ। पत्रकार संगठनहरूले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन पत्रकारको सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग आग्रह गरेका छन्।