search logo
NOTIFICATIONS

वीरगञ्जमा निषेधाज्ञा जारी

हाम्रो पेज

२१ पुष २०८२, सोमबार १४:३५

पर्सा, २१ पुष । वीरगञ्जमा निषेधाज्ञा जारी भएको छ । धार्मिक तथा सामाजिक विषयलाई लिएर उत्पन्न तनाव र सम्भावित झडपको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा जारी गरेको हो । वीरगञ्ज महानगरपालिकाका मुख्य तथा संवेदनशील क्षेत्रहरूमा निषेधाज्ञा जारी गरिएको हो । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पुस २१ गते दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि यो निषेधाज्ञा लागु भएको हो । प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचनाअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ३क बमोजिम शान्ति सुरक्षा कायम राख्नका लागि तोकिएका क्षेत्रहरूभित्र कुनै पनि किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । निषेधाज्ञा लागु भएका क्षेत्रहरूमा पूर्वमा बसपार्क क्षेत्र, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शङ्कराचार्य गेट हुन् । प्रशासनले उक्त आदेशको उल्लंघन गर्ने जोसुकैलाई नियन्त्रणमा लिई कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको छ । पछिल्लो समय सुरक्षा संवेदनशीलता बढेको अवस्थामा शान्ति कायम गर्न यो कदम चालिएको हो । त्यहाँको मस्जिद तोडफोड, आगजनीलगायतको घटनालाई लिएर आइतबार मुस्लिम समुदायले प्रदर्शन गरेको थियो । त्यस्तै हिन्दुको मन्दिर तथा देवीदेवतामाथि अभद्र टिप्पणी गरिएको भन्दै सोमबार बिहानैदेखि हिन्दुवादीहरू प्रदर्शनमा उत्रिएका थिए ।आज बिहान १० बजे फेरि हिन्दुवादी संगठनहरूले वीरगञ्जमा प्रदर्शन गरेका थिए ।

प्रजिअ दाहालका अनुसार दुवै समुदायको प्रदर्शनलाई ख्यालमा राखेर निषेधाज्ञा जारी गरिएको हो । धनुषामा मस्जिदमा तोडफोड र धर्मग्रन्थ जलाएको घटनाको विरोधमा आइतबार वीरगञ्जमा भएको प्रदर्शन उग्र बनेपछि प्रहरीले ५ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । यो घटनाको सुरुवात सामाजिक सञ्जालमा पोस्ट भएको एक भिडियोबाट भएको प्रहरीले जनाएको छ ।