
रुपन्देही, ४ पुष । रास्वपाका सभापति रवि लामिछाने रुपन्देही अदालतबाट रिहा हुनु भएको छ । रिहाइ लगत्तै लामिछानेले न्यायको लडाइँ बाँकी रहेको बताउनुभएको छ । भैरहवास्थित जिल्ला कारगारबाट छुटेपछि लामिछानेले आफूमाथि भएको अन्याय देशमाथि भएको अन्यको तुलनामा केही पनि नभएको बताउनुभयो । आफू बोल्ने समय आउने भन्दै उहाँले हिसाबकिताब गर्न बाँकी रहेको बताउनुभयो । ‘न्यायको यो लडाइँ मेरो बाँकी नै छ, मैले अझ धेरै लड्नु छ र मैले अहिले लड्नुपर्छ लड्न बाँकी छ भनेको मेरा लागि भनेको होइन तपाईंका लागि यो देशको न्यायका लागि लड्नुपर्ने छ भनेको हो,’ लामिछानेले भन्नुभयो, ‘यिनीहरूले यो देश माथि गरेको अन्यायको अगाडि म माथि गरेको अन्याय केही पनि होइन, त्यो सबको हिसाब गर्नुछ । त्यसको हिसाब मिलाएपछि अलि लामो बोलौंला, आजलाई म यति मात्र भन्छु कि हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ ।’ काठमाडौंबाट हवाईजहाजमा भैरहवा आउने तयारी भएपनि खराब मौसमका कारण लामिछाने चितवनसम्म जहाजमा आएर त्यहांबाट सडकमार्गबाट सांझ पौने ६ बजे भैरहवा कारागार आइपुग्नु भएको थियो । लामिछाने भैरहवा कारागार आइपुग्दा र छुटेपछि रास्वपाका नेता कार्यकर्ता र समर्थकहरुले उनको पक्षमा हुटिङ गर्दै खुशियाली मनाएका छन् । रूपन्देही जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले उच्च अदालतको आदेशअनुसार केही सर्त र बैंक जमानतको कागज गरेर छाडेको बताउनुभयो । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले हिजो धरौटीमा छोड्न आदेश दिएको थियो । बिगो बापतको २ करोड ७४ लाख ८४ हजार र १ करोड रुपैयाँ धरौटी रकम बुझाएपछि रवि रिहा हुनु भएको हो । खराब मौसमका कारण काठमाडौंबाट भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न नपाएपछि चितवनको भरतपुर विमानस्थल भएर सडकमार्गबाट रुपन्देही पुग्नु भएको थियो । जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले कानुन व्यवसायीको रोहबरमा सनाखतकालागि पहिल्यै कागजात तयारी अवस्थामा राखेका कारण छिट्टै काम सकिएको बताउनुभयो ।