काठमाडौं, १५ आश्विन । मौसम पूर्वानुमान महाशाखाले बुधबार देशभर मौसम बदली भई वर्षा हुने प्रक्षेपण गरेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी र तराई भूभागका साथै मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा पनि यस्तै वर्षा हुनेछ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक९दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। आज राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका साथै मधेस प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ।

मौसमविद्हरूका अनुसार टीकाको भोलिपल्ट अर्थात् असोज १७ गतेदेखि अतिभारी अर्थात् आरिघोप्टे वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले गएराति एक विशेष बुलेटिन जारी गर्दै असोज १७, १८ र १९ गते अतिभारी वर्षाको सम्भावना रहेको जनाएको छ। मौसमविद् उज्जवल उपाध्यायले फेसबुकमार्फत आउँदो शनिबार र आइतबारका लागि तय भएका सबै लामो दूरीका यात्रा स्थगन गरी सुरक्षित बस्न आह्वान गरेका छन्। महाशाखाले पनि असोज १७, १८ र १९ गते पर्ने पानीले बाढी, पहिरो, डुबान, कटानका कारण हवाई तथा स्थल यातायातमा प्रभाव पार्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ। जलवायु विपद् विज्ञ डा धर्मराज उप्रेतीका अनुसार यस्तो वर्षाले बाढी, पहिरो, डुबान, कटान र बालीनालीमा उच्च क्षति पुर्याउने सम्भावना छ। असोज २१ गतेसम्म पनि पानी पर्ने संकेत देखिएको उप्रेतीले बताउनुभयो। असोज २१ गते बेलुकादेखि भने प्रणाली कमजोर हुने र राति नेपालभर पानी पर्न रोकिने सम्भावना छ। त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक विनोद पोखरेलका अनुसार मौसम पूर्वानुमानका लागि प्रयोग गरिने तीनवटै मोडेलहरू युरोपियन मोडेल, जर्मन मोडेल र अमेरिकन मोडेलले अक्टोबर ३ अर्थात् असोज १७ गते शुक्रबारदेखि सुरु हुने प्रणालीको असरले आरिघोप्टे वर्षाको सम्भावना उच्च बनेको देखाएका छन्। यी तीनवटै मोडेलका अनुसार असोज १७ गते शुक्रबारदेखि पूर्वी नेपालबाट यसको प्रभाव सुरु हुनेछ। असोज १८ र १९ गते यसको प्रभाव अझ बढी देखिनेछ। भारतको मौसम विभागले पनि असोज १७ देखि १९ सम्म सिक्किम, पश्चिम बंगाल र बिहारमा अत्यधिक वर्षाको चेतावनी जारी गरिसकेको छ।महाशाखाले निकालेको दशैँ विशेष बुलेटिनमा दशैँको टीकाको दिनदेखि त्रयोदशीसम्म पानी पर्ने उल्लेख गरेको छ। बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्रको प्रभाव भारतको ओडिसाबाट जमिनको भूभागमा प्रवेश गरी मध्य भारततर्फ सर्ने क्रममा नेपालमा जलवाष्पयुक्त मनसुनी वायु प्रवेश गर्नेछ। नेपालमा मनसुन भित्रिने सरदर मिति जुलाई १३ र मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख हो। यस वर्ष अक्टोबर २ तारिख अर्थात् असोज १६ गते दशैंको टीका परेको छ। असोज १६ गते र त्यसपछि पनि मनसुन सक्रिय हुने भएकाले नेपालबाट मनसुन बाहिरिन केही दिन ढिलाइ हुने देखिएको छ।