search logo
NOTIFICATIONS

पूर्वराष्ट्रपति भण्डारी एमाले पुनरागमनमा दृढ, रवि लामिछानेको पक्षमा उभिँदै ओलीप्रति असन्तुष्टि

हाम्रो पेज

१० भाद्र २०८२, मंगलवार १३:५९

काठमाडौं, १० भाद्र । सक्रिय राजनीतिमा फर्कने विषयलाई लिएर नेकपा एमाले भित्र बहस चलिरहेका बेला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू राजनीतिक यात्रामा अघि बढिसकेको र अब पछि नफर्कने दृढता व्यक्त गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रवक्ता मनिष झासँग आफ्नो निवास भंगालमा भएको भेटवार्तामा उहाँले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नै विगतमा आफ्नो राजनीतिकरागमनको समर्थन गरे पनि हाल आएर बोली फेर्दै आफूलाई रोक्न खोजेकोमा गुनासो गर्नुभयो। करिब दुई घण्टा लामो संवादका क्रममा पूर्वराष्ट्रपति भण्डारीले आफ्नो राजनीतिक भविष्यबारे स्पष्ट पार्दै भन्नुभयो, म राजनीतिक रूपमा अगाडि बढिसकेँ, अब पछि फर्कने होइन। मैले ४५ वर्ष योगदान गरेको एमाले मेरो पनि पार्टी हो र मेरो इच्छा यही पार्टीमा रहेर योगदान गर्ने हो। उहाँले अध्यक्ष ओलीको दोहोरो भूमिकाप्रति असन्तुष्टि जनाउनुभयो। केही समयअघि केपी ओलीजीले नै अन्तर्वार्तामा पूर्वराष्ट्रपति किन राजनीतिमा आउन नपाउने? भनेर मेरो पक्षमा बोल्नुभएको थियो, जुन अहिले सामाजिक सञ्जालमा पनि छ, प्रवक्ता झा ले भण्डारीको भनाइ उद्धृत गर्दै भन्नुभयो, तर अहिले उहाँ आफैँले बोली फेरेर मलाई रोक्न खोज्दै हुनुहुन्छ। भेटवार्तामा भण्डारीले सहकारी बचत रकम अपचलनको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेमाथि राज्यले गरिरहेको व्यवहारप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले सहकारी समस्याको समाधान खोज्नुको सट्टा विषयलाई राजनीतिकरण गरेर नागरिकलाई दुःख दिने काम भएको बताउनुभयो। सहकारीको समस्या समाधानतिर जानुपर्नेमा राज्य मुद्दा बनाएर नागरिकलाई दुःख दिनतर्फ लाग्यो, उहाँको भनाइ थियो, त्यसमाथि पनि रविजीमाथि समान कानुनी व्यवहार भएन। एउटै प्रकृतिको मुद्दामा कसैलाई सोधपुछ गरेर छाड्ने, कसैलाई रकम फिर्ता गर्ने अवसर दिने, तर कसैलाई फिर्ता गर्छु भन्दा पनि नदिई थुन्नेजस्तो असमान व्यवहारले कालान्तरमा राम्रो गर्दैन। उहाँले चाडपर्वको मुखमा बचतकर्ताको रकम फिर्ता गर्नेतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो। पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा नयाँ र पढेलेखेका पुस्ताको आगमनलाई सकारात्मक रूपमा लिएको बताउनुभयो। अहिले नयाँ पुस्तालाई राजनीतिमा आउन सहज वातावरण बनेको छ, यो राम्रो हो, उहाँले भन्नुभयो, अब विचारको बहसलाई अगाडि बढाउनुपर्छ र त्यसमा हामीजस्ताले सघाउनुपर्छ।